२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बढ्दै कोरोना संक्रमित, घट्दै मृत्यु दर, ५०.७३ % निको भए


बिर्तामोड, जेठ ३१ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो ।

तर, संक्रमितको संख्या भने केही देशहरुमा बढिरहेको छ । बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, मेक्सिको, पेरु, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

यसैबीच, पछिल्लो २४ घण्टामा मात्र १ लाख ४० हजार ३५८ जनामा देखिएको छ भने ४ हजार ५९७ जनाको निधन भएको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसका कुल संक्रमितमध्ये आधा बिरामीले कोराना भाइरसलाई जितेका छन् । हालसम्म संसारभर ७७ लाख २५ हजार ४५७ संक्रमित रहेकोमा ३९ लाख १९ हजार ३१२ बिरामी निको भएर घर फर्किएका छन् । पछिल्लो केही दिनयता बिरामीको उपचारमा क्रमिक सुधार आइरहेको तथ्यांकले देखाउँछ ।

त्यस्तै, पाँच साताअघि उपचार फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए । उपचार फाइल बन्द भन्नाले निको भएका र मृत्यु भएका संक्रमितलाई जनाउँछ । तर, केही दिनयताको तथ्यांक हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ९० प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या १० प्रतिशतमा झरेको छ ।

डेढ साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । एक साताअघि सम्म निको हुनेको संख्या ८७ प्रतिशत थियो । त्यसको ४८ घण्टामा यो दर घटेर ८९ प्रतिशतमा आएको थियो । कुल संक्रमितमध्ये पाँच दशमलव ५३ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । हालसम्म ४ लाख २७ हजार ६८३ संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, संक्रमितमध्ये ४३ दशमलव ७३ प्रतिशत बिरामीको उपचार भइरहेको छ । हालसम्म ३३ लाख ७८ हजार ४६२ जना संक्रमित उपचाररत छन् । तीमध्ये दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ । उपचार गराइरहकामध्ये ५३ हजार ८८८ जना बिरामीको अवस्था दयनीय छ ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा २१ लाख १६ हजार ४२८ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये २७ दशमलव ३९ प्रतिशत अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ८ लाख २९ हजार ९०२ जना संक्रमित छन् । त्यहाँ पछिल्लो २४ घण्टामा २४ हजार २५३ संक्रमित थपिएका छन् । हाल विश्वमा सबैभन्दा बढी संक्रमित बढिरहेको देश ब्राजिल हो ।

त्यस्तै, दक्षिणी छिमेकी मुलुक भारत दैनिक संक्रमित थपिनेमा तेस्रो स्थानमा पर्छ । संक्रमित संख्याको आधारमा भारत चौथो स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

भारतमा अहिलेसम्म ३ लाख ९ हजार ६०३ जना संक्रमित पुष्टि भएको छ । ८ हजार ८९० जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३८९ जनाको मृत्यु भएको छ भने ११ हजार ३२० संक्रमित थपिएका छन् ।

त्यस्तै, रसियामा ५ लाख ११ हजार ४२३, बेलायतमा २ लाख ९२ हजार ९५०, स्पेनमा २ लाख ९० हजार २८९, इटलीमा २ लाख ३६ हजार ३०५, पेरुमा २ लाख २० हजार ७४९, जर्मनीमा १ लाख ८७ हजार २५१, इरानमा १ लाख ८२ हजार ५२५, टर्कीमा १ लाख ७५ हजार २१८, चिलीमा १ लाख ६० हजार ८४६, फ्रान्समा १ लाख ५६ हजार २८७, मेक्सिकोमा १ लाख ३३ हजार ९७४, पाकिस्तानमा १ लाख २५ हजार ९३३ र साउदी अरेबियामा १ लाख १९ हजार ९४२ जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख १६ हजार ८१९ पुगेको छ । ब्राजिलमा ४१ हजार ९०१, बेलायतमा ४१ हजार ४८१, इटलीमा ३४ हजार २२३, फ्रान्समा २९ हजार ३७४, स्पेनमा २७ हजार १३६, मेक्सिकोमा १५ हजार ९४४, बेल्जियममा ९ हजार ६४६, जर्मनीमा ८ हजार ८६३, इरानमा ८ हजार ६५९, क्यानाडामा ८ हजार ४९, नेदरल्यान्ड्समा ६ हजार ५३, रसियामा ६ हजार ७१५, पेरुमा ६ हजार ३०८ र टर्कीमा ४ हजार ७७८ जनाले ज्यान गुमाइसकेका छन् ।

यसबीच, चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ जना संक्रमित देखिएका छन् । त्यहाँ संक्रमित ८३ हजार ६४ जना छन् । चीनमा ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer