२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा पिसिआर ल्याब बनाउन सहकारी संघ र संस्थाले २५ लाख दिने


-हिमाल खरेल
बिर्तामोड, जेठ ३२ ।
एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालका अनुसार संघको समन्वयमा अभियानलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागिएको हो । आज आइतबार घोषणा गरेर एक साताभित्र रकम संकलन गरिसक्ने ढकालले जानकारी दिए ।

सामाजिक अभियान भएकाले झापाका सहकारी तथा सहकारीसँग सम्बद्ध देशभरका केन्द्रीय संघहरुलाई स्वेच्छिक रुपमा सहयोग गर्न जिल्ला संघले अपिल गरेको छ । जिल्ला सहकारी संघले नेतृत्व गरेको सहयोग अभियानमा राष्ट्रिय सहकारी महासंघले ऐक्यबद्धता जनाएको छ ।

ढकालका अनुसार महासंघसँगै राष्ट्रिय सहकारी बैंक, बचत तथा ऋण सहकारी महासंघले प्रतिबद्धता जनाउँदै एकएक लाख रुपैयाँका दरले सहयोग रकम घोषणा गरेका छन् । जिल्ला सहकारी संघ झापाले एक लाख एक हजार रुपैयाँ पिसिआर ल्याबका लागि सहयोग गर्नेछ ।

चारपानेमा हुने सहयोग रकम घोषणा कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल काठमाडौँ, उपाध्यक्ष रमेश पोखरेल विराटनगर र महासंघ तथा बैंकका सञ्चालक अमृता सुब्बा इटहरीबाट आएका छन् । त्यस्तै, बैंकका लेखा समिति संयोजक लक्ष्मी उप्रेती, महासंघका केन्द्रीय सदस्य शिव डाँगी, बचत तथा ऋणका केन्द्रीय सदस्य घनश्याम अधिकारीको उपस्थिति रहनेछ ।

त्यस्तै, झापाका उच्च कारोबार गर्दै आएका सहकारी संस्थाका प्रमुखहरुको पनि उपस्थिति रहने कार्यक्रममा उनीहरुले ल्याब सञ्चालनका लागि सहयोग रकमको घोषणा गर्ने छन् । ढकालका अनुसार झन्डै २० सहकारी प्रतिनिधिको उपस्थिति रहनेछ ।

एकका लागि एक अभियानले सुरु गरेको पिसिआर ल्याब सञ्चालन गर्ने अभियानमा सहकारीको सबैभन्दा माथिल्लो निकाय पनि जोडिएको ढकालले बताए । ‘यो एकदमै खुसीको कुरा हो’, ढकालले भने, ‘यसले समाजमा राम्रो सन्देश दिएको छ ।’

ल्याब सञ्चालनका लागि अभियानले १५ लाख रुपैयाँ उपलब्ध गराएर सहयोग जुटाउन सुरु गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । अभियानले दुई साताअघि रकम घोेषणा गरेको थियो भने ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ ।

ल्याब सञ्चालन गर्न अन्तर्राष्ट्रिय झापाली समाजले पनि ३० लाख रुपैयाँको हाराहारीमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । ४० देशमा सञ्जाल रहेको समाजका अभियान्ताहरुले अनलाइन कोष खडा गरेर रकम संकलन गरिरहेको समाजका संरक्षक दिनेश पोखरेलले जानकारी दिए ।

अभियानअन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । संसारभर रहेका झापाली र संघसंस्था तथा अन्य क्षेत्रका दाताहरुसँग अभियानले सहयोगको अपिल गरेको छ ।

पिसिआर ल्याब स्थापना गर्न झन्डै एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ल्याब सञ्चालनको जिम्मेवारी लिन झापाका कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई अभियानले अनुरोध गरेको छ । ल्याब कोटिहोमको समर्पण भवनमा सञ्चालन हुने बढी सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer