२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बढ्दै कोरोना संक्रमित, घट्दै मृत्यु दर, ५२.१० % निको भए


अमेरिकामा निको भएर घर फर्किदै एक संक्रमित । तस्वीर:एएसडटकम

-हिमाल खरेल
झापा, असार ३ ।
कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो ।

तर, संक्रमितको संख्या भने केही देशहरुमा बढिरहेको छ । बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, मेक्सिको, पेरु, बेलायत, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

यसैबीच, पछिल्लो २४ घण्टामा मात्र १ लाख ४२ हजार ४०१ जनामा कोरोना संक्रमण देखिएको छ भने ६ हजार ५८९ जनाको निधन भएको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसका कुल संक्रमितमध्ये आधाभन्दा बढी बिरामीले कोराना भाइरसलाई जितेका छन् । कुल संक्रमितमध्ये ५२ दशमलव १० प्रतिशत बिरामी निको भएका छन् ।

हालसम्म संसारभर ८२ लाख ५१ हजार ६८ संक्रमित रहेकोमा ४२ लाख ९९ हजार २२२ जना बिरामी निको भएर घर फर्किएका छन् । पछिल्लो केही दिनयता बिरामीको उपचारमा क्रमिक सुधार आइरहेको तथ्यांकले देखाउँछ ।

त्यस्तै, छ साताअघि उपचार फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए । उपचार फाइल बन्द भन्नाले निको भएका र मृत्यु भएका संक्रमितलाई जनाउँछ । तर, केही दिनयताको तथ्यांक हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ९१ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ९ प्रतिशतमा झरेको छ ।

दुई साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । डेढ साताअघि सम्म निको हुनेको संख्या ८७ प्रतिशत थियो । त्यसको ४८ घण्टामा यो दर घटेर ८९ प्रतिशतमा आएको थियो ।
तीन दिनअघि सम्म निको हुनेको प्रतिशत ९० थियो । कुल संक्रमितमध्ये पाँच दशमलव ३९ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । हालसम्म ४ लाख ४५ हजार १८५ संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, संक्रमितमध्ये ४२ दशमलव ५० प्रतिशत बिरामीको उपचार भइरहेको छ । हालसम्म ३५ लाख ६ हजार ६६१ जना संक्रमित उपचाररत छन् । तीमध्ये दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ । उपचार गराइरहकामध्ये ५४ हजार ५६७ जना बिरामीको अवस्था दयनीय छ ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा २२ लाख ८ हजार २४४ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये २७ दशमलव ३९ प्रतिशत अमेरिकामै एकतिहाइ रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा ९ लाख २८ हजार ८३४ जना संक्रमित छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ३७ हजार २७८ संक्रमित थपिएका छन् । हाल विश्वमा सबैभन्दा बढी संक्रमित बढिरहेको देश ब्राजिल हो ।

त्यस्तै, दक्षिणी छिमेकी मुलुक भारत दैनिक संक्रमित थपिनेमा तेस्रो स्थानमा पर्छ । संक्रमित संख्याको आधारमा भारत चौथो स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

भारतमा अहिलेसम्म ३ लाख ५४ हजार १६१ जना संक्रमित पुष्टि भएको छ । ११ हजार ९२१ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा २ हजार ६ जनाको मृत्यु भएको छ भने ११ हजार १३५ संक्रमित थपिएका छन् ।

त्यस्तै, रसियामा ५ लाख ४५ हजार ४५८, बेलायतमा २ लाख ९८ हजार १३६, स्पेनमा २ लाख ९१ हजार ४०८, इटलीमा २ लाख ३७ हजार ५००, पेरुमा २ लाख ३७ हजार १५६, इरानमा १ लाख ९२ हजार ४३९, जर्मनीमा १ लाख ८८ हजार ३८२, चिलीमा १ लाख ८४ हजार ४४९, टर्कीमा १ लाख ८१ हजार २९८, फ्रान्समा १ लाख ५७ हजार ७१६, मेक्सिकोमा १ लाख ५० हजार २६४, पाकिस्तानमा १ लाख ४८ हजार ९२१ र साउदी अरेबियामा १ लाख ३६ हजार ३१५ जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख १९ हजार १२९ पुगेको छ । ब्राजिलमा ४५ हजार ४५६, बेलायतमा ४१ हजार ९६९, इटलीमा ३४ हजार ४०५, फ्रान्समा २९ हजार ५४७, स्पेनमा २७ हजार १३६, मेक्सिकोमा १७ हजार ५८०, बेल्जियममा ९ हजार ६६३, जर्मनीमा ८ हजार ९१०, इरानमा ९ हजार ६५, क्यानाडामा ८ हजार २१३, नेदरल्यान्ड्समा ६ हजार ७०, रसियामा ७ हजार २८४, पेरुमा ७ हजार ५६ र टर्कीमा ४ हजार ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।

यसबीच, चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको भए पनि राजधानी बेइजिङमा न्यून संख्यामा संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४० जना संक्रमित देखिएका छन् । त्यहाँ संक्रमित ८३ हजार २२१ जना छन् । चीनमा ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer