२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पिसिआर ल्याबका लागि रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा सहयोगको प्रतिबद्धता


झापा, असार ३ । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानले सामाजिक संघसंस्थासँग छलफल गरिरहेको छ ।

बुधबार अभियानका प्रतिनिधिले सामाजिक संस्था रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरसँग छलफल गरेका छन् । बिर्तामोडस्थित अतिथि सदनमा भएको छलफलमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पिसिआर ल्याब स्थापना गर्नका लागि विशेष सहयोग गर्ने प्रतिबद्धता जनाए ।

छलफलमा ओलीले अभियानका बारेमा जिज्ञासा राखेका थिए । अभियानले अहिलेसम्म गर्दै आएको कामको उनले प्रशंसा गरेका थिए । छलफलमा ओलीले प्रतिष्ठानको समितिसँग सल्लाह गरेर ल्याबका लागि रकम घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक कार्यमा क्रियाशील प्रतिष्ठानले प्रत्येक वर्ष रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार, गौरादेवी ओली स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार र देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार वितरण गर्दै आएको छ ।

अघिल्ला तीन पुरस्कारको राशी १ लाख १ हजार १११ रुपैयाँ रहेको छ भने अन्तिमको पुरस्कारको राशी ५१ हजार १११ रुपैयाँ पुरस्कार रहेको छ । प्रतिष्ठानले बाढी, पहिरोलगायत प्रकोपमा परेकालाई पनि सहयोग गर्दै आएको छ ।

बैठकमा अभियानका तर्फबाट सहसंयोजक विनोद बस्नेत, सदस्यहरु मदनगोपाल सुब्बा, कुमार भट्टराई, निर्मल भट्टराई, मिजास पोखरेल, सञ्जीव घिमिरेले ल्याब स्थापना र सञ्चालन विधिबारे प्रस्ट पारेका थिए । बैठकको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।

यसैबीच, ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले पनि ल्याबका लागि २५ देखि ३० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै, झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

अभियानको कोषमा ३० लाख रुपैयाँभन्दा बढी बचत रहेकोमा दाताहरुले नगद प्रदान गरिरहेको अभियानका सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए । हिजो मात्र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौँले ल्याबका लागि दुई लाख रुपैयाँ प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer