२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जिल्लाबासीको सेवामा समर्पित झापाली समाज अस्ट्रेलिया


बिर्तामोड, जेठ ३१ । अस्ट्रेलियामा रहेका झापाबासीहरुको साझा संस्था झापाली समाज अस्ट्रेलियाले आफ्नो सामाजिक सेवाको कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

कोरोना भाइरसका कारण समस्यामा परेका झापालीको पीडामा समाजले आर्थिक सहयोग तथा स्वास्थ्य सामग्रीदेखि खाद्यान्न वितरण गरेको छ । समाजका अध्यक्ष उमेश पोखरेलको विशेष पहल र नेतृत्वमा अस्ट्रेलियाबाट झापामा सहयोग प्राप्त हुँदै आएको हो ।

यसैबीच, समाजले भद्रपुरस्थित मेची अस्पताललाई २ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको अध्यक्ष पोखरेलले जानकारी दिए । समाजकी महिला संयोजक सोनु पुडासैनीको नेतृत्वमा एक कार्यक्रमका बीच अस्पताललाई ती सामग्री आइतबार हस्तान्तरण गरिएको हो ।

समाजले मेची अस्पताललाई अक्सिजन सिलिन्डर, नर्सका लागि पिपिइ सेट, मास्कलगायत सामग्री दिएको पुडासैनीले जानकारी दिइन् । कार्यक्रममा समाजका कार्यकारी सदस्य कर्ण राजवंशी, अस्पताल प्रमुख डा. टंक बाराकोटी, अस्पताल विकास समिति अध्यक्ष सोमनाथ पोर्तेल, अस्पतालका कर्मचारी सागर कार्की, कांग्रेस नेता गणेश पोखरललगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, समाजले झापाको मेचीनगर नगरपालिकामा रहेका विपन्नवर्ग तथा रोजगार गुमाएका दैनिक ज्यालादारी गर्ने मजदुरलाई खाद्यान्न प्रदान गर्न २ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष पोखरेलले बताए ।

समाजले भिजन फर मोटिभेसन अस्ट्रेलियाको सहकार्यमा २ लाख रुपैयाँको खाद्यान्न वितरणमा सहयोग गरेको सिड्नीमा रहेका पोखरेलले जानकारी दिए । धुलाबारी जेसिज र फुड फर फमेलीको संयुक्त पहलमा समाजले सहयोग गरेको हो ।

समाजकी महिला संयोजक पुडासैनीको उपस्थितिमा मेचीनगरका १०० परिवारलाई खाद्यन्न वितरण गरिएको थियो । उनका अनुसार प्रत्येक विपन्न परिवालाई ३० केजी चामल, २ केजी गहुँको पिठो, १ लिटर तेल, एक केजी चना र १ केजी नुन वितरण गरिएको थियो ।

लकडाउनमा परेका मेचीनगरका आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्यन्न वितरण गरिएको धुलाबारी जेसिजका अध्यक्ष राजीव प्रसाईंले बताए । कार्यक्रममा हाम्रो सानो प्रयास र अप्साली जब्स इन्टरटेन्टमेन्ट समेत सहयोग रहेको थियो ।

त्यस्तै, समाजले अन्तर्राष्ट्रिय झापाली समाज (अझास) लाई जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरणका लागि ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

अझासले झापाका १५ वटै स्थानीय तहमा आठ लाख मूल्यबराबरको पिपिइ, भिटिएम किट, एन्टिजेन्ट किट, ग्लोब्स, एन ९५ मास्क र सर्जिकल माक्स, फेस सिल्ड, सेनिटाइजर तथा कोरोना उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि एक सयवटा सिलिन्डरबापतको १५ लाख रुपैयाँ प्रदान गरेको थियो । यी दुवै कार्यक्रमका लागि समाजले ३ लाख रुपैयाँ प्रदान गरेको हो ।

यसैबीच, रोटरी क्लब अफ भद्रपुरको सहकार्यमा समाजले निर्माण गर्दै गरेको सार्वजनिक शौचालयको काम अन्तिम चरणमा पुगेको छ । १५ लाख रुपैयाँको लागतमा भद्रपुरमा सो शौचालय निर्माण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer