२०८३ जेठ ५ मंगलबार
Jhapa Today
Adv top

झापामा आयोडिनविहीन नुन बिक्री रोक्न उपभोक्ता मञ्चको माग


बिर्तामोड, जेठ ५ । चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले नेपाल भारत खुला सीमाका कारण यहाँका व्यापारिक ‘सुपर मार्केट’ तथा खाद्यन्न पसलमा आयोडिनविहीन भारतीय नुन खुलमखुला बिक्री वितरण भइराखेकामा चिन्ता व्यक्त गर्दै आम उपभोक्ताको स्वास्थ्यमा असर पुर्याउन यस्ता नुनलाई बजार अनुगमन गरेर जफतसमेत गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।

अर्काेतर्फ सरकारले नुन बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड एवं गुणस्तरअनुसार आयोडिनको मात्रा नभएको नुन बिक्रीवितरण हुँदा भविष्यमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको उनीहरुको तर्क छ ।

बालरोग विशेषज्ञ डा टङ्क बाराकोटीले आयोडिनविहीन नुनको प्रयोग बढ्ने हो भने विशेष गरेर बालबालिका तथा गर्भवतीको स्वास्थ्य जोखिममा पर्न सक्ने औँल्याए ।

राष्ट्रिय उपभोक्ता मञ्चद्वारा सोमबार यहाँ आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्य’ कार्यक्रममा उनले तत्काल आयोडिनविहीन नुन बिक्री वितरणमा प्रतिबन्ध लगाइनु माग राखे ।

सरकारले २०८२ साल साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीवितरण गर्न बाटो खुलाएको थियो ।
सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्र खान आग्रह गर्दै आएको मञ्चका झापा अध्यक्ष मदनगोपाल सुब्बाले जानकारी दिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालका प्रमुख वृजकुमार दासले बालबालिकामा आयोडिनको कमी हुँदा मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्ने बताए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले बजार अनुगमन गरेर स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने आयोडिनविहीन नुन बिक्रीवितरण गर्न नदिईने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग झापाका प्रमुख सुवासचन्द्र वस्ती, साल्ट ट्रेडिङ कर्पाेरेसनका सहायक प्रबन्धक ब्रजेश झाले सरकारको कार्यादेशअनुसार आयोडिनयुक्त नुनको नियमित आपूर्ति र वितरण हुँदै आएको बताए ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नुनको अर्काे विकल्प नभएको चर्चा गर्दै तत्काल बजार अनुगमन गरेर आयोडिनविहीन नुन जफत गर्नुपर्ने बताए ।

Adv footer