२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

ओलम्पिक खेलमा नेपालको इतिहास


तस्वीर स्रोतः ओलम्पिक डटकम

-हिमाल खरेल


बिर्तामोड, असार १५ । विश्वकै सबैभन्दा ठुलो र महान खेल मेला हो ओलम्पिक । यो प्रतियोगितामा सहभागी हुन सजिलो छैन । त्यसैले पनि नेपालजस्ता साना देशहरुलाई ओलम्पिकमा सहभागी हुन कठिन हुन्छ ।

ओलम्पिकमा नेपालको पहिलो सहभागिताको कुनै आधिकारिक अभिलेख पाइँदैन । अन्तर्राष्ट्रिय ओलिम्पिक काउन्सिलले पनि नेपालको ओलिम्पिक सहभागितालाई उल्लेख गरेको छैन । इटालीको राजधानी रोममा सन् १९६० मा भएको ओलिम्पिकमा भने नेपालले एकजना पर्यवेक्षक पठाएको इतिहास भेटिन्छ ।

नेपालको ओलम्पिक सहभागिताबारे कही अपुष्ट कुराहरु चाहिँ भेट्न सकिन्छ । एथ्लेटिक्स खेलाडी स्वर्गीय कृष्णबहादुर बर्माले आफ्नो किताबमा सन् १९५२ मा आफूले हेलसिन्की ओलिम्पिक खेलेको लेखेका छन् । तर, उनको किताब ‘जापानमा मैले के के पाएँ’ मा उल्लेख भएको सो कुराको आजसम्म पुष्टि हुन सकेको छैन ।

सो ओलिम्पिकमा नरशमशेर जबराले पनि खेलेको र उनीहरुलाई तत्कालीन राजा त्रिभुवनले ओलिम्पिक पठाएको भनिए पनि आधिकारिक रुपमा लिइएको छैन । ओलिम्पिक प्रतियोगितामा नेपालको पहिलो औपचारिक सहभागिता भने सन् १९६४ को टोकियो ओलम्पिकमा भएको पाइन्छ ।

ओलम्पिकमा सहभागी हुन गर्नुपर्ने छनोट चरण नै निक्कै कठिन हुन्छ । त्यसैले नेपालजस्ता स्रोत साधनमा कमजोर मुलुकहरुको सहभागिता कम्ति पाइन्छ । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आइओसीले यसका लागि हरेक महादेशको निम्ति अलगअलग प्रणाली बनाएको छ ।

सन् १९६४ को टोकियोमा भएको १८ औँ ओलिम्पिकमा ६ जना नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । यो नै नेपालले ओलिम्पिकमा सहभागिता जनाएको पहिलोपटक हो । सो बेला धावकहरु गंगाबहादुर थापा मगर र भुपेन्द्र सिलवाल तथा बक्सिङमा नमसिंह थापा, ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापाले सहभागिता जनाएको इतिहास छ । झापाका स्वर्गीय सिलवालले आफूहरु खाली खुट्टा दौडिएको यो पंक्तिकारसँग २०६४ सालमा बताएका थिए ।

केही प्रतियोगिताबाहेक त्यसपछिका वर्षहरुमा नेपालले ओलिम्पिकमा सहभागिता जनाउँदै आएको पाइन्छ । मेक्सिकोमा सन् १९६८ मा भएको ओलम्पिकमा नेपाल सहभागी भएन । सन् १९७२ मा जर्मनीको म्युनिखमा भएको २० औँ ओलिम्पिकमा नेपालबाट धावक जीतबहादुर केसी र भक्तबहादुर सापकोटाले भाग लिएका थिए । महान धावक बैकुण्ठ मानन्धर २१ औँ मोन्ट्रियल ओलिम्पिकमा नेपालको तर्फबाट एक्लो सहभागी भए ।

रुसकोे राजधानी मस्कोमा १९८० मा भएको ओलिम्पिकमा १२ नेपाली खेलाडीहरुले भाग लिएका थिए । एथ्लेटिक्स, बक्सिङ र भारोत्तोलनमा गरी तीन खेलबाट उनीहरुले नेपालको प्रतिनिधित्व गरेका थिए । सो बेला बैकुण्ठ मानन्धर, मुकुन्दहरि श्रेष्ठ र लक्ष्मण बस्नेतले म्याराथनमा, नरबहादुर दाहाल १० हजार मिटरमा र रघुराज वन्तले १०० मिटर दौडमा भाग लिएका थिए । रविराज थापा, उमेश मास्के, नरेन्द्र पुमा, पुष्करध्वज शाही र विष्णु मालाकारले बक्सिङमा सहभागी भएका थिए ।

१९८४ मा लस एन्जलिस् ओलिम्पिकमा मानन्धर लगातार तेस्रोपटक सहभागी भए । उनीसँगै अर्जुन पण्डित र आमिरी यादव म्याराथनमा भाग लिए । पुष्पराज ओझा र जोधा गुरुङले ४०० मिटर दौड, उमेश मास्के, प्रवीण तुलाधर, मनबहादुर श्रेष्ठ र दलबहादुर राना मगरले बक्सिङमा भाग लिए । भारोत्तोलनमा सुरेन्द्र हमाल र जगदीश प्रधान सअभागी भएका थिए ।

ओलम्पिकमा छनोट प्रक्रिया र सहभागी खेलहरुबारे नियमहरु परिवर्तन हुँदै आएको इतिहास पाइन्छ । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आइओसीले वाइल्ड कार्ड प्रणाली लागु गरेको छ । आफ्ना सदस्य राष्ट्रहरु ओलम्पिक खेल्नबाट वञ्चित हुन नपरोस् भनेर वाइल्ड कार्डको नियम बनाइएको हो । आइओसीले हरेक सदस्य राष्ट्रलाई एथलेटिक्स र पौडीबाट दुईदुई खेलाडी नियमित रुपमा भाग लिने अवसर दिएको छ ।

नेपालले ओलम्पिकमा केही इतिहास पनि रचेको छ । सन् २००४ को २८ औँ एथेन्स ओलिम्पिकमा नेपाली खेलाडी तेक्वान्दोकी संगिना वैद्यले पहिलोपटक छनोट चरण पार गरेर ओलिम्पिकमा सहभागिता जनाइन् । सन् २००८ मा भएको २९ औँ बेइजिङ ओलिम्पिकमा दिपक विष्ट पनि छनोट चरण पार हुँदै सहभागी भएका थिए ।

त्यस्तै, १९८८ मा सोलमा भएको २४ औँ ओलिम्पिकमा नेपालका तेक्वान्दो खेलाडी विधान लामाले काश्य पदक जितेर रेकर्ड राखे । सो ओलम्पिकमा पहिलोपटक प्रदर्शनी खेलको रुपमा तेक्वान्दोलाई समावेश गरिएको थियो ।

सोल ओलम्पिकमा नेपालले ६ खेलहरु एथ्लेटिक्स, बक्सिङ, सुटिङ, भारोत्तोलन, तेक्वान्दो र जुडोमा भाग लिएको थियो । एथ्लेटिक्समा म्याराथनबाट बैकुण्ठ मानन्धर, टिका बोगटी, कृष्ण बस्नेत, हरिबहादुर रोकाय, डम्बर कुँवर तथा महिला धावक राजकुमारी पाण्डे र मेनुका राउतले सहभागिता जनाएका थिए । कुँवर र राउत झापाली हुन् ।

बक्सिङबाट दलबहादुर राना मगर, विष्णुबहादुर सिंह, झपटसिंह भुजेल, रामबहादुर गिरी र डम्बरदत्त भट्ट, जुडोबाट गंगाबहादुर डंगोल र ऋषिराम प्रधान तथा भारोत्तोलनबाट भरत साउदले भाग लिएका थिए ।

सन् १९९२ को २५ औँ ओलम्पिकमा, तेक्वान्दोबाट सीता राई, नारायण गुरुङ र प्रमिला थापा, एथ्लेटिक्सबाट हरिबहादुर रोकाय र सुटिङबाट अनिता श्रेष्ठले भाग लिए । १९९६ को २६ औँ एटलान्टा ओलिम्पिकमा एथ्लेटिक्सबाट म्याराथनमा टिका बोगटी र विमला राना मगर, सुटिङबाट विभाश्वरी राई, भारोत्तोलनबाट सुनिललाल जोशी र पौडीबाट निश्मा गुरुङ र सीताराम शाहीले सहभागी भए ।

सन् २००० मा अस्ट्रेलियाको सिड्नीमा भएको २७ औँ ओलम्पिकमा नेपालबाट सुटिङकी भगवती खत्री, एथ्लेटिक्सका ज्ञानबहादुर बोहरा, पौडीका चित्रबहादुर गुरुङ र पौडीकी रुना प्रधानले भाग लिए । सन् २००४ को २८ औँ एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगिना वैद्य, एथ्लेटिक्सका राजेन्द्र भण्डारी र कान्छीमाया कोजु, सुटिङबाट टिकाराम श्रेष्ठ तथा पौडीबाट नयना शाक्य र एलिस श्रेष्ठ सहभागी भए ।

सुन् २००८ को २९ औँ बेइजिङ ओलिम्पिकमा तेक्वान्दोका दिपक विष्टसँगै आठ खेलाडी सहभागी भए । एथ्लेटिक्समा अर्जुन बस्नेत, चन्द्रकला थापा, पौडीमा करिश्मा कार्की र प्रसिद्धजंग शाह, जुडोमा देवु थापा र सुटिङमा फूलमाया क्राप्छाकीले भाग लिए ।

सन् २०१२ को लन्डन ओलम्पिकमा एथ्लेटिक्स, पौडी र सुटिङ गरी तीन खेलमा पाँचजना खेलाडीले सहभागिता जनाएका थिए । एथ्लेटिक्सतर्फ तिलकराम थारु र प्रमिला रिजाल, पौडीबाट श्रेया धिताल र प्रसिद्धजंग शाह र सुटिङबाट स्नेह राज्यलक्ष्मी राणाले प्रतिस्पर्धा गरेका थिए ।

सन् २०१६ मा ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको ३१ औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपालबाट ५ खेलमा ७ जना खेलाडीले भाग लिएका थिए । नेपालले एथलेटिक्स, जुडो, तेक्वान्दो, पौडी र आर्चरी खेलमा सहभागिता जनाएका थियो ।

नेपालबाट तेक्वान्दोकी निशा रावल, जुडोका फुपुल्हामु खत्री र आर्चरीका जितबहादुर मोक्तान, पौडीबाट शिरीष गुरुङ र गौरीका सिंह र एथ्लेटिक्सबाट हरिकुमार रिमाल र सरस्वती भट्टराईले भाग लिए ।

नेपालको ओलम्पिक सहभागिता ‘वाइल्ड कार्ड’ र ‘युनिभर्सालिटी प्लेसेस’ कोटामा सीमित हुँदै आएको छ । राज्यले खेलाडीहरुलाई राम्रो लगानी गर्न नसक्दा नेपालको ओलम्पिक सहभागिता कमजोर बन्दै आएको हो । नेपाली खेलाडीहरु छनोट चरणबाटै बाहिरिनु दुखद् पक्ष हो ।
३२ औँ ओलम्पिक जापानको टोकियोमा सन् २०२० मै हुनुपर्नेमा कोभिड १९ का कारण सरेर २०२१ मा हुने भएको छ । नेपालबाट सहभागी हुने खेलाडीहरुले छनोट चरण पार गर्न सकेका छैनन् ।

टोकियो ओलम्पिकमा हालसम्म पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सका गोपीचन्द्र पार्की, सुटिङकी कल्पना परियार र जुडो खेलाडी सोनिया भट्टले वाइल्ड कार्ड पाएर सहभागिता जनाउने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer