
बिर्तामोड, बैशाख ४ । झापाबाट गैँडाको खाग लिएर जाँदै गरेका चारजना सुनसरीमा पक्राउ परेका छन् । सुनसरीको बर्जुमा गैँडाको खागजस्तो देखिने वस्तुसहित चारजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
हिजो साँझ करिब साढे ७ बजेको समयमा बर्जु गाउँपालिका–६ स्थित बर्जु तालको पूर्व गेटमा अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई गैँडाको खागसहित पक्राउ गरेको हो ।

गैँडाको खागलाई मोटरसाइकलमा लुकाइछिपाई राखी मोलमोलाई गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको बराह बाहिनीले जनाएको छ ।
नियन्त्रणमा लिइएका चारैजनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, इनरुवा सुनसरीमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





