२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

उपाध्यक्ष गिरीको साक्षी बसेका अधिकारीले छाडे बिएन्डसीको अनुगमन समिति


बिर्तामोड, असार २६ । बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको गाली बेइज्जती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएन्डसी मेडिकल कलेज अनुगमनमा संलग्नताबाट आफू मुक्त भएको घोषणा गरेका छन् ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गठन गरेको तीन सदस्यीय अनुगमन समितिमा उनी सदस्य थिए । बुधबार कार्यकारी समितिलाई सम्बोधन गरी अधिकारीले निवेदन दिँदै अनुगमन टोलीबाट भए गरेका काममा आफ्नो संलग्नता नरहने र प्रतिवेदन पनि बुझाउन नसक्ने बताएका हुन् ।

उनले सो कुरा पनि चिठीमा लेखेका छन् । उनले आफू मुद्दामा साक्षी बसे पनि गिरी र प्रसाईंसँग कुनै लिनुदिनु नरहेको उल्लेख गरेका छन् । ‘यस्तो कुरा आएपछि टोलीमा बसिरहनु पनि भएन,’ उनले भने ।

उपाध्यक्ष गिरीले बिएन्डसीको सम्बन्धन अगाडि बढाउनका लागि कलेज अनुगमन गरी प्रतिवेदन दिनुपर्ने भएपछि डा. प्रकाशराज पाण्डेको नेतृत्वमा समिति गठन गरेका थिए । समितिले झापा गएर बिएन्डसीको अनुगमन गरेको थियो ।

तर, प्रतिवेदन बुझाउने बेलामा अधिकारी गिरीको मुद्दामा साक्षी बसेको पाइएपछि पाण्डेले स्वार्थको द्वन्द्व हुने भन्दै प्रतिवेदन बुझाउन अस्वीकार गरेका थिए ।

गत असार २२ मा आयोगको कार्यकारी समितिको बैठक बसेको थियो । त्यहाँ पनि पाण्डेले प्रतिवेदन बुझाउन नसक्ने र कुनै पनि लिखित कुरा पनि नदिने भनेर बाहिरिएका थिए ।

‘यसरी पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा समेत मेरो नाम जोडिएकाले नैतिकताको आधारमा सो अनुगमन टोलीबाट भए गरेका काममा मेरो कुनै संलग्नता नरहने र प्रतिवेदन बुझाउन नसक्ने व्यहोरा अनुरोध गर्दछु,’ उनले निवेदनमा लेखेका छन् ।

बिएन्डसी मेडिकल कलेजमा अनुगमनका लागि आयोगले असार १ गते टोली गठन गरेको थियो । टोली असार ६ गते बिएन्डसीमा पुगेर असार ८ गते अनुगमन गरी फर्किएको थियो ।

असार १४ गते प्रतिवेदनलाई अन्तिम रूप दिने बेलामा अधिकारी गिरीको मुद्दामा साक्षी बसेको थाहा भएको थियो ।

आफैँले गठन गरेको टोलीले प्रतिवेदन बुझाउन नमानेपछि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी अप्ठ्यारोमा परेका छन् ।

कार्यकारी समितिको बैठक शनिबार बोलाइएको छ । त्यहाँ यसबारे छलफल हुन सक्ने बताइएको छ ।

चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा बिएन्डसीलाई सम्बन्धन दिने नदिने विषयमा छलफल भएपछि आयोगले टोली गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer