२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालले महिला भलिबल च्याम्पियनसिप नखेल्ने


बिर्तामोड, साउन १ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फिलिपिन्समा भदौ १३ देखि १८ सम्म आयोजना हुने भनिएको एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ ।

एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ए मा आयोजक फिलिपिन्स, कजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह बि मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया छन् ।

सुरुवातमा १७ टोली सहभागी हुने भनिए पनि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोलीको नाम पक्का भएको थियो । तर, एभिसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम रहेको छैन । कोरोना संक्रमणका कारण नै यी देशहरु सहभागी नभएको बुझिएको छ ।

नेपालले अघिल्लो साता मात्र प्रारम्भिक टोलीमा ३० खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै संघले १८ सदस्यीय टोली घोषणा गरेको थियो । केही साता प्रशिक्षण गरेपछि १२ सदस्यीय अन्तिम टोलीको घोषणा हुने तयारी थियो । टोलीले झन्डै एक महिना प्रशिक्षण गरेपछि सहभागिता नहुने भएको हो ।

च्याम्पियनसिपमा सहभागी हुनका लागि (प्रशिक्षणको सुरुवातदेखि) नै संघले करिब १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको थियो । यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग माग्दै आफैँ पनि च्याम्पियनसिपको लागि आर्थिक रकम जुटाउन लागेको थियो ।

एसियन च्याम्पियनसिपका लागि संघले गत चैतमा आयोजना भएको पाँचौँ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०७७ को प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्ज्वलबहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले ३० खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको थियो ।

बन्द प्रशिक्षणमा डाकिएकामध्ये पुलिसका तीन खेलाडी (पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ) आधारभूत तालिममा रहेको भन्दै नेपाल पुलिस क्लबले प्रशिक्षणमा सहभागी गराएन । टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्ट, प्रशिक्षक कुमार राई, भरत यादवसँगै अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका थिए । टोलीमा उज्ज्वल डोटेल फिजियोको भूमिकामा थिए भने व्यवस्थापक निरोज मास्केले भने पदबाट राजिनामा दिइसकेकी थिइन् ।

नेपाल पहिलोपटक एसियन महिला सिनियर भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा थियो । यसअघि अन्तिम समयमा यसअघिका आयोजक रहेका चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्यान्डले नाम फिर्ता लिएका थिए । -हाम्रो खेलकुदबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer