बिर्तामोड, साउन १० । कोभिड संक्रमणको कारण देखाउँदै बिर्तामोड नगरपालिकामा एक साता लकडाउन गर्ने निर्णय भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, कार्यपालिका सदस्य, स्थानीय प्रशासन र स्वास्थ्यकर्मी बीच आज नगरपालिकामा छलफल भएको थियो । आज आइतबार भएको छलफलले तीन दिनपछि मात्र लकडाउन गर्ने निर्णय गरेको छ ।
छलफलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा एक हप्ता लकडाउन गर्ने निष्कर्ष निकालेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
बैठकको निर्णयअनुसार साउन १३ गते बुधबार राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय भएको संघका सदस्य जीवनकुमार खड्काले जानकारी दिए ।
स्वास्थ्य शाखाका अनुसार बिर्तामोडमा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितको संख्या ३ हजार ३६३ पुगेको छ । अहिले ५४७ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत छन् ।
झापा दमक, शिवसताक्षी, बुद्धशान्तिमा यसअघि नै लकडाउन गरिएको छ ।