२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

टाइमलेस होटलमा खोप भेटिनुको वास्तविता यस्तो छ


बिर्तामोड, साउन १६ । शुक्रबार दिउँसो बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा कोभिडविरुद्धको खोप लुकाएर राखिएको खबर छिनभरमै फैलियो । खोप राखेको थाहा पाउने र खोप ल्याएर राख्नेका आआफ्ना तर्क छन् । तर, वास्तविता के हो त ? झापा टुडेले होटलमा खोप आइपुग्नु अगाडि नै त्यहीँ भएका व्यक्तिसँग बुझ्ने प्रयास गरेको छ ।

होटलको किचन भएको भवनका अघिल्तिर कफी खाँदै गरेका वीरता जेसिजका अध्यक्ष राजीव धिमाल, नेपाल औषधि व्यवसायी संघ झापाका महासचिव जीवनकुमार खड्कालगायतले प्रत्यक्ष देखेको दृश्य यस्तो छ:

करिब ०३ः५५ बजे जिल्ला स्वास्थ्य कार्यालयको गाडी होटलभित्र प्रवेश गर्छ । गाडीबाट बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कासहित तीनजना मानिस बाहिर निस्किन्छन् । खोप प्राविधिक बालकृष्ण भण्डारी र कर्मचारी विशाल घिमिरेसहित खड्का एउटा कार्टुन बोकेर होटलको किचनतर्फ प्रवेश गर्छन् ।

जीवनकुमार खड्काले ओमलाई ‘ओम सर के छ’ भनी हात उठाउँछन् । ओमले हात मात्र उठाउँछन् तर बोल्दैनन् । केहीबेरमै उनीहरु होटलबाट बाहिरिन्छन् । होटलको गेटबाट निस्किनुअघि उनीहरु एकअर्कामा मुखामुख गर्छन् ।

स्वास्थ्य कार्यालयको गाडी बाहिरिएको केही समयमै मानव नाम गरेका होटलका कर्मचारीले कार्टुन बोकेर कफी पिउने एरियाको काउन्टरभित्रको र्याकमा ल्याएर घर्रा खोलेर भित्र राख्छन् । त्यही काउन्टरकै अगाडि राजीव, जीवनकुमार र अगाडिदेखि नै रेस्टुरेन्टमा रहेका रमेश चौधरी, राजेन्द्र उप्रेती, सञ्जय न्यौपाने, योगेन थापा, जीवन भुटाङहरु सँगै बसेर कफी पिइरहेका थिए ।

जीवनकुमार खड्का औषधि व्यवसायी भएकाले उनले त्यो कार्टुन चिनिहाले । उनले साथीहरुलाई ‘यो त भ्याक्सिन जस्तै छ त’ भने । कार्टुन छाम्दा चिसो र टेपले टालेको भेटियो । उनीहरुले होटलका कर्मचारी मानवलाई सोध्दा उनी अन्कनाए । अब शंकाको घेरा झन् बढ्दै गयो ।
उनीहरुले मानवलाई केरकार गरे । अझ विस्तृतमा बुझ्न थाले । तर, उनी त्यो कार्टुन बोकेर आत्तिँदै माथिल्लो तल्लातर्फ लागे ।

यही समय बीचमा माओवादीका स्थानीय नेता अरुण श्रेष्ठ पनि एकजना साथीसहित कफी पिउन होटल छिर्छन् । होटल कर्मचारी मानवले लुकाएको कार्टुनबारे कुरा चल्छ । उनलाई दोहोर्याएर सोध्दा अक्मकिन्छन् । कर्मचारी मानव त्यसपछि देखापर्दैनन् ।

कफी पिउँदै गरेका सबैजनाले प्रहरी र पत्रकारलाई खबर गर्छन् । प्रहरी र पत्रकारको होटलमा बाक्लो उपस्थिति हुन्छ । करिब ०४ः२५ बजेतिर ओम खड्का पनि होटल आइपुग्छन् । उनलाई कार्टुनबारे बुझ्दा भ्याक्सिन नै भएको बताउँछन् ।

प्रहरीले होटलमा लुकाएर राखिएको खोपको कार्टुन बरामद गर्छ । प्रहरी र पत्रकार मात्र होइन स्थानीय युवाको पनि होटलमा ठुलो उपस्थिति हुन्छ । ओम खड्कामाथि सोधपुछ हुन्छ । उनले आफू खाजा खाना आएको बताउँछन् । तर, खड्काले होटलमा खाजा खाएका थिएनन् । अर्डर पनि गरेका थिएनन् ।

खड्का र खोप लिएर प्रहरीको भेन इलाका प्रहरी कार्यालयतर्फ लाग्छ । खोप जिल्ला स्वास्थ्य कार्यालयलाई बुझाइएको छ भने खड्कालाई शुक्रबार साँझै प्रहरीले छोडिदिएको छ ।

अब प्रश्न उठ्छ, खोप किन होटलमा पुर्याइयो ? खोपको भण्डारण टाइमलेस मुमेन्टमा हुने हो र ? होटलमा कफी पिउन आएका व्यक्तिबाहेकका पनि १० वटाजति मोटरसाइकल होटलभित्र किन थिए ? लाइनमा बस्न नमान्ने बरु पैसा तिरेर खोप लगाउने मानिसका लागि होटलमा खोपको व्यवस्था त गरिएको होइन ?

अनि अझ शंका गर्ने ठाउँ, आरोपित कार्यालय जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नै यो खोप प्रकरण छानबिन समितिका संयोजक कसरी हुन सक्छन् ?

यो प्रकरणमा ओम मात्र होइन अरु पनि दोषी देखिन्छन् । त्यसैले, घटनाबारे विज्ञहरुको निष्पक्ष छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्छ । दोषीलाई कडा कारबाही गर्न सबैले माग गरेका छन् ।

कार्टुनमा १०३ भाइल अर्थात २०६ डोज खोप रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer