२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड खोप प्रकरणः उद्योग वाणिज्य संघद्वारा निष्पक्ष छानबिनको माग


बिर्तामोड, साउन १६ । बिर्तामोड उद्योग वाणिज्य संघले टाइमलेस मुमेन्ट होटलमा लुकाएर राखिएको कोभिडविरुद्धको खोप प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनसमक्ष माग गरेको छ ।

संघले आज शनिबार पत्रकार सम्मेलन गरेर छानबिनका साथै दोषीउपर कडा कानुनी कारबाहीको माग गरेको छ । शुक्रबार दिउँसो होटलमा बिर्तामोडका कोभिड फोकल पर्सन ओमबहादुर खड्कासहितले २०६ डोज कोरोनाविरुद्धको भेरोसेल खोप लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

संघले खड्कालाई छोडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष प्रकाश शिवाकोटी र महासचिव अर्जुन मैनालीले हस्ताक्षर गरी पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणदर र मृत्युदर दिनदिनै बढिरहेको छ । सरकारले खोप दिनु भनी तोकेको समूह दिनभर जोखिम मोलेर भीडभाड र घाममा बस्नु परेको छ, कैयौँ सकस व्यहोेरेर पनि खोप लगाउन बञ्चित छ । तर, विभिन्न बहानामा होटलमा खोप लुकाई छिपाई राखिएको घटनाले गम्भीर प्रश्नहरु उब्जाएको छ ।’

उद्योगी–व्यवसायी तथा आवद्ध श्रमिक, कामदार कर्मचारी खोपबाट अहिलेसम्म बञ्चित हुनु परेको संघले उल्लेख गरेको छ । संघले यस क्षेत्रका उद्योगी व्यवसायी तथा श्रमिक, कर्मचारीलाई व्यवसायको प्रकृति प्राथमिकीकरण गरी खोप उपलब्ध गराउन गत जेठबाट नै बिर्तामोड नगरपालिका, जिल्ला प्रशासनसँग पटकपटक माग तथा ध्यानाकर्षण गराए पनि हालसम्म सुनुवाई नगरिएकोमा खेद व्यक्त गरेको छ ।

‘होटलमा खोप लुकाएर पहुँचवालाहरुलाई आर्थिक लाभ र अन्य स्वार्थबाट प्रेरित भई बिर्तामोडको स्वास्थ्य शाखाले नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्दै चरम अनियमितता गरेको आंशका उब्जिएको र जिल्ला स्वास्थ्य प्रमुखसमेतको संलग्न रहेको हाम्रो बुझाई छ, तसर्थ जिल्ला कोभिड खोप व्यवस्थापन समिति झापाद्वारा गठित छानबिन समितिबाट निष्पक्ष छानबिनको लागि जोडदार माग गर्दछौँ’, संघले निकालेको विज्ञप्तिमा छ ।

होटलमा खोप लुकाइएको घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न, फोकल पर्सन खड्कासहित संलग्न सबैलाई कारबाही गर्न संघले तीनै तहका सरकार र स्थानीय प्रशासनसमक्ष जोडदार माग गरेको छ ।

वास्तविकता उजागर नभए र दोषीलाई कारबाही नभए बिर्तामोड उद्योग वाणिज्य संघ सशक्त खबरदारीमा उत्रने जनाएको छ । संघले सबै नागरिकलाई यथाशीघ्र सहज रुपमा खोप उपलब्ध गराउन, खोप कार्यक्रम पारदर्शी र व्यवस्थित रुपमा सञ्चालन गर्न तथा अनियमिता गर्ने व्यक्तिलाई तत्काल निलम्बन गरी उक्त कार्यमा सहयोग गर्ने अन्य व्यक्तिहरुलाई समेत कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ ।

नगरप्रमुखद्वारा सत्यतथ्य पत्ता लगाउन माग

यसैबीच, बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले पनि आज एक विज्ञप्ति निकालेर आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय झापाले गठन गरेको छानबिन समितिसमक्ष यस्तो माग गरेका हुन् ।

पाँच सदस्यीय छानबिन समिति गठन

बिर्तामोड नगरपालिकाको खोप प्रकरण छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले ७ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने निर्णय गरेको हो ।

छानबिन समितिको सदस्यहरुमा जिल्ला समन्वय समिति अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापा, सशस्त्र प्रहरी बल २ नम्बर गणका डिएसपी प्रेम प्रसाईं र राष्ट्रिय अनुसन्धान झापाका अनुसन्धान अधिकृत किरण भट्टराई छन् ।

बैठकले बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खड्कालाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मको लागि खोपसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer