२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वाञ्चल क्यान्सर अस्पतालमा २० महिनामा ४५० सल्यक्रिया


बिर्तामोड, भदौ ५ । नेपालको अत्याधुनिक उपकरण र विश्वस्तरीय सेवा भएको झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले स्थापनाकालदेखि हालसम्म (२० महिना) का अवधिमा ४५० वटा क्यान्सरका विभिन्न सल्यक्रिया गरेको जनाएको छ ।

शनिबार अस्पतालमा सभाकक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले सबैभन्दा बढी महिलाको स्तन क्यान्सरका रोगीको सल्यक्रिया गरिएको जानकारी दिए ।

उनका अनुसार स्तन क्यान्सरपछि आन्द्रा, नाक, कान, घाँटी र डिम्बासय क्यान्सरको सल्यक्रिया गरिएको छ । नेपालभर हुने क्यान्सर रोगीसम्बन्धी सल्यक्रियामध्ये २५ प्रतिशत पूर्वाञ्चल क्यान्सर अस्पतालमा हुने गरेको डा. यादवले बताए ।

नेपालमा बर्सेनि ३० देखि ४० हजार क्यान्सर रोगी थपिँदै गएको र २ हजारजना सम्म क्यान्सर रागीकोे मृत्यु हुने गरेको तथ्यांक छ । डा. यादवले क्यान्सर रोगीका लागि आवश्यक सम्पूर्ण उपकरण पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध भएको बताए । उनले झापामा प्रत्येक वर्ष २ हजारभन्दा बढी क्यान्सर रोगी थपिँदै गएको जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पतालले पूर्वी नेपाल मात्र नभएर मध्य र पश्चिम नेपालका साथै भारतका केही स्थानबाट समेत क्यान्सरका बिरामीको उपभार भइरहेको जानकारी दिए ।

उनले हालसम्म २८ हजार ५६० जना बिरामीले अस्पताल आएको, ५ हजार ५४३ जनाले ओपडिीमार्फत सेवा लिएको र २ हजार ४७६ जना बिरामीको उपचार भइरहेको बताए । उनले पूर्वाञ्चलमा सबै किसिमका क्यान्सरको सहजै सल्यक्रिया हुने बताए ।

यसैबीच, अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत १० हजार महिलाको पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरिदिने भएको छ । स्वास्थ्यको पहुँच नपुगेका महिलाको चेतना बढाउन पनि अस्पतालले निःशुल्क परीक्षण गर्न लागेको उनले जानकारी दिए । प्रसाईंले भदौ ६ गतेदेखि निःशुल्क ओपिडी सेवा सञ्चालनसँगै २५ प्रतिशत छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने पनि जानकारी दिए ।

अस्पतालका सूचना तथा जनसम्पर्क अधिकारी प्रमिस गिरीले सहजीकरण गरेको कार्यक्रममा सल्यक्रिया विभाग प्रमुख डा. मुक्ति देवकोटा र टाउको तथा नाक सल्यक्रिया विभाग प्रमुख डा. बजरंगप्रसाद साहले आआफ्नो विभागको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer