२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ब्लड क्यान्सर रोगी राजुलाई एकै व्यक्तिबाट १५ लाखको प्रतिबद्धता


तस्वीर साभार: न्युजसञ्जाल

बिर्तामोड, भदौ ८ । बिर्तामोडका ब्लड क्यान्सरबाट ग्रसित राजु चौधरीलाई एकजना चिकित्सकले १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिर्तामोडको स्थानीय रिदम ब्यान्डका गायक तथा गितारिस्ट उनको काठमाडौँमा उपचार भइरहेको छ । चौधरीलाई दुबईमा बस्दै आएका डा. संदिप श्रेष्ठले १५ लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् ।

सहयोगी भावनाको कदर गर्दै अहिले सामाजिक सञ्जालमा उनको प्रशंसासँगै चर्चा चुलिएको छ । ‘फर राजु चौधरी’ अभियानका सदस्य तथा ब्यान्डका गायक विशाल अग्रवालका अनुसार डा. श्रेष्ठ क्यान्सर रोगी सिओना श्रेष्ठका बुबा हुन् । कुनै बेला सानी छोरीको उपचारका लागि भौतारिएका डा. श्रेष्ठले आफ्नै समस्या सम्झेर सहयोग गर्न लागेको बताइएको छ ।

छोरी सिओनाको उपचारका क्रममा धेरै सांगीतिक ब्यान्डहरुले आर्थिक सहयोग गरेको सम्झेर आफूले पनि सहयोग गर्न चाहेको डा. श्रेष्ठलाई उद्धृत गर्दै अग्रवालले जानकारी दिए । उनका अनुसार उपचाररत चौधरीलाई आवश्यक परेको बेलामा उक्त रकम पठाइदिने डा. श्रेष्ठले बचन दिएका छन् ।

अहिले कोरोनाको महामारीका कारण रकम पठाउन समस्या रहेको उनको भनाइ छ । चौधरी उपचाररत अस्पतालमा रहेका चिकित्सक पनि साथी भएकाले आफूले गर्ने सहयोग पूरा गर्न तत्पर रहेको डा. श्रेष्ठको भनाइ छ ।

चौधरीको दुई हप्ताअघि विराटनगरमा उपचार भइरहेको बेला स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गरिएको थियो । त्यस अस्पालतले पनि काठमाडौँ रेफर गरेपछि हाल उनको काठमाडौँमा उपचार भइरहेको छ ।

उनी हाल आइसियुमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको बताइन्छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकारले अपिल गरेका छन् ।

यस क्रममा २४ घण्टाभित्र अनुप्रस्ट ब्यान्डले २ लाख १७ हजार ८७४ रुपैयाँ सहयोग जुटाएको छ । सहयोग अपिलकै क्रममा ब्यान्डका भोकलिस्ट निरान शाहीले उक्त रकम जुटाएका हुन् ।

त्यस्तै, विद्रोही रक स्टारका नामले चिनिएका द स्याडोज नेपालका गायक स्वप्निल शर्माले पनि उनलाई सहयोग गरिदिन याचना गरेका छन् । ‘हामी सबै एकजुट होऔँ र उनलाई सहयोग गरौँ,’ उनले लेखेका छन् ।

साथै, श्री ३ ब्यान्डका गायक तथा गितारिस्ट शरद श्रेष्ठले पनि उनलाई सहयोग गर्न फेसबुकमा पोस्ट गरेका छन् । यस्तै, एएसएम ब्यान्डका गायक अभिषेक शंकर मिश्राले पनि राजुलाई सहयोग गरिदिन सबैमाझ आग्रह गरेका छन् ।

चौधरी आवद्ध रिदम ब्यान्डका विशालसँगै प्रकाश लिङदेन, राहुल शर्मा, विकास गिरी, रमेश चौधरी, जेनिथ प्रसाईं र प्रज्ज्वल तिम्सिनालगायत सिंगो टिम नै सहयोग जुटाउन अहोरात्र खटिरहेको छ ।

रिदम ब्यान्डका सदस्यहरुले सहयोगको अपिल गरेपछि बिर्तामोड ५ का किरण पौडेलले ५० हजार दिँदै सहयोगको सुरुवात गरेका थिए । त्यस्तै, चारआलीका व्यवसायी फुर्वा लामाले जन्मदिनको अवसरमा ५० हजार दिने घोषणा गरेको अग्रवालले जानकारी दिए । नेप्लिज टिन्सले पनि एक लाख रुपैयाँको हाराहारीमा रकम संबलन गरिसकेको छ ।

सहयोग गर्न चाहनेहरुले राजु चौधरीको नाममा रहेको सनराइज बैंक बिर्तामोड झापाको शाखाको खाता नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग गर्न सक्नेछन् । अथवा राजु चौधरीको इसेवा नम्बर ९८१७९३५७३३ मा पनि सहयोग गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer