२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अस्ताए बिर्तामोडका गितारिस्ट राजु चौधरी


बिर्तामोड, भदौ २५ । स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको उपचारका क्रममा निधन भएको छ ।

झापा बिर्तामोड निवासी चौधरी ए प्लास्टिक एनिमियाबाट पीडित थिए । उनी करिब २ महिनादेखि उपचारका क्रममा थिए । उनको आज बिहान ११ बजे भारतको नयाँ दिल्लीमा निधन भएको फर राजु चौधरी अभियानका सदस्य विशाल अग्रवालले जानकारी दिए ।

बिरामी भएपछि बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल, विराटनगर, काठमाडौँ हुँदै पछिल्लोपटक भारतको नयाँ दिल्लीमा उपचार भइरहेको थियो । तर, हिजो बेलुका अचानक उनको रगतमा अति संक्रमण भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

तर, उपचार जारी राखे पनि उनलाई बचाउन नसकिएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए । राजुलाई बचाउनका लागि स्थानीय एलाइट युथ क्लब बटारेसहित विभिन्न संघसंस्थाले अभियान नै सञ्चालन गरेर आर्थिक सहयोग जुटाइरहेका थिए ।

हिजो मात्र क्लब र अस्ट्रेलियामा संकलित २ लाख २९ हजार राजुको बैंक खातामा जम्मा गरिएको थियो । त्यस्तै, स्याडोज ब्यान्डका स्वप्निल शर्मा र अनुप्रस्थका निरन शाहीले पनि विभिन्न स्थानमा पुगेर राजुका लागि आर्थिक सहयोग जुटाउँदै आइरहेका थिए ।

उनको निधनसँगै बिर्तामोडका युवा समुदाय, कलाकारिता क्षेत्रमा लागेका युवा र उनका प्रशंसक स्तब्ध बनेका छन् । उनको पार्थिव शरीर शनिबार दिउँसो झापा आइपुग्ने अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer