
बिर्तामोड, असोज ९ । नेपाल जेसिजले झापाको वीरता लेडी जेसिजलाई दुई विधामा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । संस्थाले सन् २०२१ अन्तर्गत विभिन्न उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको हो ।
उत्कृष्ट महिला सशक्तीकरण कार्यक्रम क्षेत्र (क) र उत्कृष्ट कोरोना सचेतना कार्यक्रम क्षेत्र (क) द्वारा वीरता लेडी जेसिजलाई सम्मान गरेको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।
नेपाल जेसिजको आयोजना तथा इनरुवा जेसिजको आतिथ्यतामा सम्पन्न क्षेत्र क सम्मेलनमा वीरता लेडी जेसिजको उत्कृष्ट कार्यको मूल्यांकन गर्दै सो अवार्ड प्रदान गरिएको नेपाल जेसिजले जनाएको छ ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा क्षेत्र (क) का ४१ वटै शाखाका अध्यक्ष लगायत पदाधिकारीहरु, नेपाल जेसिजका पूर्व र वर्तमान पदाधिकारीहरु साथै देशभरका जेसिज अभियन्ताहरुको सहभागिता रहेको थियो ।
यसैबीच वक्तृत्वकला प्रतियोगितामा पनि वीरता लेडी जेसिजले दोस्रो स्थान हासिल गरेको छ । परिवर्तनका लागि उठौँ, मानव विकासका लागि नेतृत्वका अभ्यासहरू परिवर्तनका लागि जागौँ, मानव विकासका लागि नेतृत्वका अभ्यासहरू शिर्षकमा आफ्नो प्रस्तुति राखेर वीरता लेडी जेसिजकी कृतिका आचार्यले दोस्रो स्थान हासिल गरिन् ।
उनले मेडल, प्रमाणपत्र र अवार्ड प्राप्त गरिन् । प्रतियोगितामा क्षेत्र (क ) का ४१ वटा शाखा मध्ये बाट १० जना प्रतिस्पर्धी रहेका थिए ।