२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

हारबाट जोगियो थ्री स्टार, फ्रेन्ड्ससँग बराबर


बिर्तामोड, मंसिर १७ । उपाधि दाबेदारको रुपमा रहेको रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । एक गोलले पछि परेको अवस्थामा मिक्चेन तामाङले गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट जोगिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । खेलको चौथो मिनेटमा प्रिजेन तामाङको प्रहारलाई गोलरक्षक प्रिसोले पञ्च गर्दै बचाउँदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । २०औँ मिनेटमा निशान खड्काको फ्रिकिकलाई फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले सहजै बचाए ।

२५औँ मिनेटमा सन्जोक राईको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । ५०औँ मिनेटमा सन्जोक राईको पासमा ऋतिक खड्काले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

लगत्तै ५१औँ मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए । उनले कप्तान प्रकाश बुढाथोकीको त्रसलाई सदुपयोग गरेका थिए । ७५औँ मिनेटमा अशोक खवासको पासमा सन्जोक राईको पेनाल्टी बक्सबाहिरको प्रहार पोलमा लागेर फर्कदा थ्री स्टार बराबरीबाट चुक्यो ।

८३औँ मिनेटमा हेमन्त थापामगरको चलाखीपूर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए । ८५औँ मिनेटमा गोलरक्षक राहुल अघि बढेको अवस्थामा ऋतिक खड्काको प्रहारलाई पोस्टबाट रोनेल एन्थोनी पलले हेडमार्फत क्लियर गर्दा थ्री स्टार अग्रता लिनबाट चुक्यो । ८८औँ मिनेटमा हेमन्तको कर्नरका अनन्त तामाङको हेडर बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

बराबरीपछि थ्री स्टारको ३ खेलबाट ४ अंक पुगेको छ । फ्रेन्ड्सको ३ खेलबाट २ अंक छ । यसअघि पहिलो खेलमा थ्री स्टारले च्यासललाई ३–० ले पराजित गर्दा दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध बनेको थियो ।
फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेल्दा संकटासाग २–१ को हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer