२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सानै उमेरमा पौडीका कीर्तिमानी दिदीभाइ एस्ली र आशिषको सफलताको कथा


बिर्तामोड, कात्तिक १३ । नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक चर्चामा रहेकी खेलाडी हुन्, एस्ली सापकोटा डंगोल । १६ वर्षीया एस्लीको यो पहिलो सहभागिता थियो । डेब्यु प्रतियोगितामै उनले छ स्वर्ण पदक जितिन् ।

एस्लीका भाइ आशिषले पनि कीर्तिमानसहित ३ स्वर्ण जिते । उनी पनि दिदीको सिको गर्दै पौडीमा प्रवेश गरेका हुन् ।

झापा मावली र कीर्तिपुर पुर्ख्यौली घर भएकी एस्ली अमेरिकाको साइपन आइल्यान्डमा जन्मिएकी हुन् । उनको बाल्यकाल अन्य बच्चाको जस्तो सहज देखिएन । खुट्टामा केही समस्या भएपछि आमाबुबाले एस्ली चार वर्षको हुँदा अस्पताल लगे । डक्टरले स्विमिङको एक्सरसाइजले सन्चो हुने बताएपछि उनलाई स्विमिङ सुरु गराइयो ।

No description available.

स्वास्थ्यमा आएको समस्याका कारण स्विमिङसँग जोडिएकी उनी अन्ततः कीर्तिमानी खेलाडी भएर निस्किइन् ।

आमा रेनुका सापकोटा डंगोलका अनुसार सुरुमा छोरीको खुट्टामा केही समस्या जस्तो देखिएपछि डक्टरले स्विमिङको एक्सरसाइज गर्न भनेपछि पहिलो वर्ष स्विमिङमा राखिएको हो ।

पहिलो वर्ष अभ्यासका रुपमा स्विमिङपुलमा राखेपछि उनी आफैँ पौडी खेल्नका लागि उत्साही भइन् । त्यसपछि एस्लीका लागि पौडी पोखरी नियमित प्रवेशको माध्यम बन्यो । पौडीसँगै उनको खुट्टा पनि ठिक हुँदै गयो ।

पौडीप्रतिको लगाव पनि बढ्दै गएपछि उनले विद्यालयस्तरमा हुने पौडी प्रतियोगितामा भाग लिन थालिन् । उनले ९ वर्षको उमेरमा जापानमा टोकियो जुनियर स्प्रिन्टमा प्रतिस्पर्धा गरिन् । जहाँ उनले रेकर्डसहित स्वर्ण हात पारिन् ।

चार वर्षअघि क्यालिफोर्निया बसाई सरेको डंगोल परिवारले छोराछोरी दुवैलाई पौडी प्रशिक्षणमा निरन्तर पठाइरह्यो । कोरोनाकालमा आर्थिक समस्या हुँदा उनीहरुलाई प्रशिक्षणबाट निकाल्न खोजे पनि छोराछोरीको चाहनामा आफूहरु हार खाएको रेनुकाले बताइन् ।

‘छोरा आशिषले अमेरिकाको राष्ट्रिय जुनियर च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेको थियो । उनीहरु दुवै आफ्नो स्कुलका च्याम्पियन हुन् । स्कुलबाट पनि सहयोग पाएका छौँ,’ रेनुका भन्छिन् ।

क्यालिफोर्निया आएसँगै एस्लीको पौडीको गतिविधिपनि बढ्यो । उनले समूहगत प्रशिक्षण नियमित पाउन थालिन् । जसले गर्दा उनको अभ्यास सँगै टाइमिङ पनि सुधारियो ।

अमेरिकामै जन्मेर उतै हुर्किएकी एस्लीले नेपालमा पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप खेलेकी हुन् । क्यालिफोर्नियामा राज्यस्तरकी पौडी खेलाडी एस्लीले चार वर्षअघि लिटिल एञ्जल्स स्कुलमा आयोजित प्रतियोगिता खेल्न पहिलोपल्ट नेपाल आएकी थिइन् ।

१९९८ मा अमेरिका प्रवेश गरेको सापकोटा डंगोल परिवार उतैको नागरिक भइसकेको छ । एस्लीलाई नेपालबाट अन्तर्राष्ट्रिय सहभागिता गर्न मन भए पनि कानुनी पाटोले छेक्न सक्छ ।

आमाबाबु नेपाली भए पनि विदेशमै जन्मिएकी उनीसँग अमेरिकाको पासपोर्ट छ । त्यसले नेपालबाट अन्तर्राष्ट्रिय सहभागिताका लागि असम्भव बनाउनेछ । तर, एस्लीले नेपालबाट खेल्ने चाहना व्यक्त गरेकी छन् ।

आमा रेनुका पनि छोराका लागि तत्काल नसोचेको भए पनि छोरीका लागि भने उसको इच्छाअनुसार स्वतन्त्र छोड्दिएको बताउँछिन् । रेनुका भन्छिन्, ‘दोहोरो नागरिकता भएको भए सहज हुन्थो । तर, त्यस्तो व्यवस्था नभएकाले अलिकति असहज त छ ।’

भाइ आशिषले ४०० मिटर इन्डिभिज्वल मेड्ली इभेन्टमा स्वर्ण मात्र जितेनन्, कीर्तिमानसमेत बनाए । त्यसका लागि उनी गुरुआमा र साथीहरूको सहयोग विशेष रहेको बताउँछन् । त्यसमाथि दिदी एस्लीको कुरा उनी ध्यान दिएर सुन्छन् । उनले नवौँ राष्ट्रियमा ३ स्वर्ण जिते ।

एस्ली र आशिषले नवौँ राष्ट्रियमा खेलकुदमा एनआरएनए (गैरआवासीय नेपाली संघ) को प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । एनआरएनएले प्रतियोगितामा ९ स्वर्ण जित्यो, जुन दिदीभाइको नाममा रह्यो ।

परिवारसहित अमेरिकामा बस्दै आएकी एस्लीले नवौँ राष्ट्रिय खेलकुदको आयोजनाबारे एक महिनाअघि थाहा पाएकी थिइन् । सामाजिक सञ्जालमा उनले खेलेको भिडियो देखेर गैरआवासीय नेपाली संघ (एनआरएनए) का टिम म्यानेजर स्वयम्भुराज डंगोलले नेपालमा आएर खेल्ने उनलाई प्रस्ताव गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer