२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

शिशुको आँखामा गाजल लगाइदिनु कति ठिक ?


बिर्तामोड, बैशाख २१ । जन्मिएको केही महिनापछि शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । त्यसै त बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् उनीहरु । गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि ठुलो हुन्छ भन्ने सोच समाजमा देखिन्छ । तर यो कति सही छ त ?

शिशुको आँखामा गाजल लगाइदिन जरुरी नभएको बाल नेत्ररोग विशेषज्ञ डा. सुजाता भण्डारी बताउँछिन् । ‘आँखा त्यसै सुन्दर हुन्छ, बच्चाको आँखामा गाजल लगाउन जरुरी हुँदैन । यसले आँखामा विभिन्न समस्या ल्याउन सक्छ,’ उनी भन्छिन् ।

पछिल्लो समय भएका अध्ययनले पनि नवजात शिशुको आँखामा गाजल लगाउनु हानिकारक हुनसक्ने देखाएका छन् ।

‘आँखामा गाजल लगाउँदा चिसो नपस्ने भन्ने कुरामा पनि सत्यता छैन,’ डा. भण्डारी भन्छिन्, नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई हानि पु¥याउन सक्छ ।’

गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ । गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन् धेरै आँसु बग्ने समस्या बढ्ने डा. भण्डारी बताउँछिन् । गाजलले कोही कोही बच्चामा एलर्जीसमेत गराउँछ ।

अझ बजारमा किनेको गाजलमा अत्यधिक केमिकल हुने भएकाले आँखादेखि शरीरका अन्य अंगमा पनि क्षति गर्न सक्ने डा. भण्डारी बताउँछिन् ।

कोर्नियल अल्सरको जोखिम

डा. भण्डारीका अनुसार गाजल लगाउने क्रममा कर्निया पनि ड्यामेज हुने सम्भावना हुन्छ । कर्नियामा लगातार क्षति पुगेमा कोर्नियल अल्सरको जोखिम हुन्छ ।

गाजलमा हुने लिड कार्बन जस्ता केमिकल हुन्छ, जसलाई टिकाउन तेल पनि प्रयोग हुन्छ । ‘यो आँखाको लागि जोखिमयुक्त मानिन्छ,’ डा. भण्डारी भन्छिन् ।

घरेलु गाजल सुरक्षित हुन्छ ?

कतिपयले घरमा प्राकृतिक सामग्रीबाट बनेको काजल सुरक्षित हुने विश्वास गर्छन् । तर, घरमा बनाएको प्राकृतिक गाजल होस् वा बाहिरको कुनै पनि किसिमको गाजल बच्चाको आँखाको लागि सुरक्षित नहुने डा. भण्डारी बताउँछिन् ।

‘वास्तवमा बच्चाको छाला निकै संवेदनशील हुन्छ । सानो लापरबाहीले पनि संक्रमण हुन सक्छ । गाजल लगाउँदा हात वा सिन्काकै प्रयोगबाट पनि कीटाणु आँखामा पर्न सक्छ,’ उनी भन्छिन् ।

त्यसैले, आँखालाई राम्रो बनाउने चक्करमा आँखा बिग्रिन सक्ने हुँदा गाजल नलगाउन उनी सुझाउँछिन् ।
-अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer