२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सेरोटाइप–२ स्वरूपको डेङ्गी बढी सक्रिय, झापामा २३८ सङ्क्रमित


बिर्तामोड, साउन १९ । नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो ।

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको डेङ्गी ४१ प्रतिशत देखिएको जानकारी दिए । महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ वटा नमुना परीक्षण गरेको थियो । परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ । उनले तीमध्ये सेरोटाइप–१ केहीमा र सेरोटाइप–३ पनि देखिएको बताए ।

सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ । एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने उनको भनाइ छ ।

अहिलेसम्म नेपालमा डेङ्गी सङ्क्रमणका चारवटै स्वरूपका सेरोटाइप देखिएका छन् । एउटा स्वरूपको सेरोटाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ । डेङ्गी सङ्क्रमण दुईपटक लागेपछि बढी सङ्क्रामक हुन्छ ।

लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ । डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलमा लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्ने गर्दछ ।

झापामा २३८ सङ्क्रमित

पछिल्ला दिन झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या बृद्धि भएको छ । साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईंले बताए ।

झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्यपरीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको बताइएको छ । डेङ्गु सङ्क्रमणका बिरामी दमक, शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका र बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा देखिएको मन्न्त्रालयका कार्यक्रम अधिकृत चम्लागाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer