बिर्तामोड, भदौ १८ । झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिने भद्रपुर ९ का तत्कालीन वडा अध्यक्ष शनिलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजै कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार राजवंशीविरुद्ध मुद्दा दायर भएपछि फरार भएका थिए । उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गतेको फैसलाले राजवंशीलाई झुटो विवरण पेस गरी नागरिकता बनाइदिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार चलान गरिसकेको डिएसपी रिजालले बताए ।
घटना विवरणअनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट २०७३ देखि २०७६ सम्ममा १६ जना गैरनेपालीलाई नागरिकता दिइएको थियो । आर्थिक प्रलोभनमा परी राजवंशीसहित प्रशासन कार्यालयका कर्मचारीदेखि अन्य जनप्रतिनिधिहरू समेत घटनामा मुछिएका थिए ।
गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको थियो । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुबाआमा कायम गर्दै नौजनालाई नागरिकता दिइएको थियो ।
टेकबहादुर र रिनालाई बुबाआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ रहेका थिए । उनीहरू सबैको ठेगाना झापा कायम गरिएको थियो ।
गैरकानुनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत थिए ।
प्रशासन कार्यालय झापाले गैरकानुनी रूपमा २०७६ जेठ १२ मा तीनलाई, जेठ २० मा एकलाई र जेठ २१ तीनजनालाई नागरिकता वितरण गरेको थियो । २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको थियो ।