२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी पुलबाट बेपत्ता भएका डा. कोइरालाको शव भेटियो


दमक, भदौ २० । उदयपुरस्थित कोशी नदीमा हामफालेर बेपत्ता भएको आशंका गरिएका झापा दमकका चिकित्सक प्रज्ज्वल कोइरालाको शव भेटिएको छ ।

कोइराला हराएको १० दिनपछि बराहक्षेत्र २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको प्रहरी जनाएको छ । माछा मार्ने मान्छेले शव देखेर प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरी गएर शव हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दोजुल्दो भएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आएको सुरक्षा बेस चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।

माछा मार्ने मानिसले कोइरालाको शव भदौ १९ गते अपरान्ह साढे ४ बजेतिर देखेका थिए । विपद व्यवस्थापन टोलीले साँझ ६ बजे शव ल्याएर धरानको बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाएको छ ।

डा. कोइराला भदौ १० गते आइतबार बेलुकाको ड्युटी सकेर हिँडेका थिए । बेपत्ता भएको भोलिपल्ट उनी चढ्ने कार चतराको पुलपारि बिहान फेला परेको थियो ।

कार राखेको क्षेत्रमा उनी चतराको पुलमा यताउता गरेको र खोलामा टहलाएको सिसीटिभी क्यामेराको फुटेजमा देखिन्छ । गाडी र पुलमा मोबाइल र जुत्ता छाडेर उनी बेपत्ता भएका थिए ।

प्रहरी स्रोतका अनुसार अन्तिम समयमा उनको प्रेमी भनिएकी एक युवतीसँग कुराकानी भएको देखिन्छ । ती युवतीसँग बयान लिँदा दुईजनाबीच प्रेम भएको समेत पाइएको छ । दमकको एक फार्मेसीमा काम गर्ने ती युवती डा. कोइराला बेपत्ताको खबर सुनेपछि बेहोश भएको खबर बाहिरिएको थियो ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ वर्षीय काइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ वर्ष काम गरेका थिए । घटनाक्रम र प्रहरी बयानअनुसार कोइरालाले कोशीमा हामफालेर आत्महत्या गरेको अनुमान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer