

चारआली, भदौ २३ । आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आबस)को आयोजनामा एकदिने निःशुल्क आँखा शिविर आज (शनिबार) सम्पन्न भएको छ ।


चारआलीस्थित आइतबारे बजारको मन्दिर परिसरमा शिविर सम्पन्न भएको हो । शिविरमा ३ सय ५४ जनाकोे आँखा जाँच गर्दा २९ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने र १२ जनाको आँखामा मासु पलाएका बिरामी फेला परेका थिए ।


काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग रहेको शिविरमा दृष्टि विशेषज्ञ प्रज्ज्वल भट्टराईको नेतृत्वको टोलीले सेवा प्रदान गरेको थियो ।


शिविरमा १२३ जनालाई निःशुल्क औषधि तथा ७३ जनालाई निःशुल्क चश्मा वितरण गरिएको आधुनिक सहकारी संस्थाका व्यवस्थापक पारस ओलीले बताए ।


आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर वडा नम्बर१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले उद्घाटन गरेका थिए ।


चारआली सेवा केन्द्रका उपसमिति संयोजक चूडामणि बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन चारआली सेवा केन्द्रका कार्यालय प्रमुख विश्वास दाहालले गरेका थिए ।







