२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको कृषि तथा सामुदायिक भवनमा कमसल इँटा, भत्काइयो पर्खाल


बिर्तामोड, असोज ३ । बिर्तामोडस्थित बिर्ताबजारमा निर्माणधीन अवस्थामा रहेको कृषि तथा सामुदायिक भवनमा ठेकेदारले कमसल इँटा प्रयोग गरेको फेला परेपछि पर्खाल भत्काइएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको टोलीले आज गरेको अनुगमनका क्रममा कमसल इँटा प्रयोग गरेको फेला परेपछि पर्खाल भत्काइएको हो ।

कमसल इँटा प्रयोग भएको पर्खाल तुरुन्तै भत्काएर गुणस्तरीय इँटा प्रयोग गरी नयाँ पर्खाल निर्माण गर्न नगरप्रमुख प्रसाईंले निर्देशन दिएकी छन् ।

एक नम्बर इँटा प्रयोग गर्नुपर्नेमा ठेकेदारले दोस्रो तलाको पर्खालमा दुईदेखि चार नम्बरसम्मको इँटा प्रयोग गरेको पाइएपछि भत्काउन बाध्य भएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

बिल्डिङमा यसअघि प्रयोग गरिएका इँटा एक नम्बर नै भएको पाइए पनि पछिल्लोपटक खरिद गरेको इँटा गुणस्तरहीन भेटिएको वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । उनले भोलिदेखि नै वडाको तर्फबाट पनि समिति बनाएर हरेक दिन अनुगमन तथा निगरानी बढाइने बताए ।

ठेकेदार कम्पनीले ४ ट्र्याक्टर इँटा कमसल आएको स्वीकार गरेको छ । कम्पनीका सुपरभाइजर सुदिप चौलागाईंले नगरपालिकाको निर्देशनअनुसार कमसल इँटा फिर्ता गरी गुणस्तरीय इँटा मगाएर प्रयोग गर्ने बताए ।

सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित) को लागतमा बिल्डिङ निर्माण भइरहेको छ । सम्झौताअनुसार २०८० असोज ६ गते योजना सम्पन्न गर्नुपर्नेछ । ठेकेदार कम्पनीले हालसम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

अनुगमनमा वडा नम्बर ७ का वडाअध्यक्ष अविरल कृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, संगीता शिवा, शर्मिला राजवंशी, वडा ३ का वडा सदस्य हरि बाँस्कोटा र लक्ष्मी रोक्काको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer