२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका तीनवटा सिमेन्ट उद्योग बन्द


बिर्तामोड, असोज १३ । झापाका तीनवटा सिमेन्ट उद्योग बन्द भएका छन् । बजारमा तीव्र प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापाका सिमेन्ट उद्योगहरू धमाधम बन्द हुन थालेका हुन् ।

मित्तल, मनसा र सनराइज सिमेन्ट उद्योग पूर्ण रूपमा बन्द भइसकेका छन् । झापामा आठवटा सिमेन्ट उद्योग थिए ।

गोरखकाली, हिमालयज, मेघा, कञ्चनजंघा र काबेली सिमेन्ट उद्योगले मात्र आफ्नो उत्पादन जसोतसो बजारमा पठाइरहेका छन् ।

जिल्लाकै पहिलो मित्तल सिमेन्ट उद्योग चार वर्षअघि बन्द भइसकेको उद्योगका सञ्चालक सुरेशकुमार मित्तलले जानकारी दिए ।

गोरखकाली र सनराइज सिमेन्टका सञ्चालक दिपेश ढकालका अनुसार सनराइज उद्योग बन्द भएको चार महिना भइसक्यो । गोरखकालीको अवस्था पनि त्यस्तै रहेको उनले बताए ।

बैंकको ऋणको चपेटा कारण उद्योग बन्द गर्नुपर्ने अवस्था आएको मनसाका सञ्चालक ब्रह्मदेव अग्रवालले जानकारी दिए ।

बैंकको ऋण र चर्को ब्याजदरका कारण उद्योगलाई निरन्तरता दिन नसकिएको उद्योगीहरुको भनाइ छ । कोरोनापछि बजार खस्किँदै जानु, खपतभन्दा बढी सिमेन्ट उद्योग खोलिन थाल्नु, बजारमा प्रतिस्पर्धा गर्ने बाटो नै बन्द हुनुका कारण पनि उद्योग बन्द गएका हुन् ।

सरकारले उद्योगलाई टिकाउने हो भने भ्याट र अन्तःशुल्कमा छुट दिने व्यवस्था ल्याउनुपर्ने ढकालको भनाइ छ ।
क्लिंकर प्लान्ट भएका उद्योगहरूले बजारमा सस्तोमा सिमेन्ट बिक्री गरिदिँदा ब्रान्डिङ गर्ने उद्योगहरू मारमा परेको काबेलीका सञ्चालक सुमन मैनालीले बताए ।

सरकारले उद्योगीको मनोबल बढाउने खालको नीति तथा कार्यक्रम, कर छुटको व्यवस्था नल्याएसम्म सञ्चालनमा आएका उद्योगको लगानी नै जोखिममा पर्ने ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer