२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कबड्डीमा सानैदेखि हुरुक्कै हुन्थिन् एसियाडमा कास्य जितेकी झापाकी अनुजा


अनुजाले पाएको मेडल देखाउँदै बुवाआमा ।

बिर्तामोड, असोज २० । एक खेलअगावै १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक पक्का गरेको नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य अनुजा कुलुङ राई सानैदेखि कबड्डीमा हुरुक्कै हुन्थिन् ।

बुबा धनमान राई र आमा तिलसरी अहिले पनि थोरै खेती र भैँसी पालेर जीविको चलाइरहेका छन् । चीनमा छोरीले पदक जितेको खबरले उनीहरु प्रफुल्ल छन् ।

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर-३ देवीबस्तीमा जस्ताले छाएको सानो भुइँतले घरमा घाँसदाउरा गरेरै अनुजाले कबड्डी सिकेकी हुन् ।

कबड्डी खेलेर देशको नाम संसारभर चिनाउने संकल्प लिएर खेल क्षेत्रमा सानैदेखि समर्पित अनुजालाई कबड्डीमा डोहो¥याउने प्रशिक्षक झापाकै रतिया राजवंशी हुन् । राजवंशी कोशी प्रदेश कबड्डी संघका अध्यक्ष र कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक हुन् ।

विद्यालयमा होस् वा घरमा अनुजा कबड्डी खेल्नै व्यस्त हुन्थिन् । बेलुका भएपछि छिमेकीका घरमा गएर टिभीमा कबड्डी नै हेर्थिन् । कबड्डीको प्रतिस्पर्धा टिभीमा हेर्न छिमेकीका घरमा जाँदा धेरै गाउँ हिँड्न थाली भनेर उनकै लागि आमा तिलसरीले टिभी किनेर ल्याउनुपरेको बताइन् ।

हुलाकी राजमार्गबाट पाँच सय मिटर दक्षिण जङ्गलकै छेउमा खेतीपातीबाटै अनुजाको परिवारले जीवन धान्दै आएको छ । सानो घर, थोरै खेतीपाती र भैँसीपालनको परिवेशले अनुजा संघर्ष गरेरै कबड्डीमा देहातबाट उदाएकी प्रतिभा हुन् ।

अग्लो र बलिष्ठ कदकी अनुजा हल्दिबारीको पञ्चायत माविमा हुँदै कबड्डी खेलाडी भइसकेकी थिइन् । आर्थिक अवस्थाका कारण उनले घाँसदाउरा गर्दै, गाईवस्तु हेर्दै पढेकी हुन् ।

आफ्नो विद्यालयमा पढेकी छात्राले अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकको स्वभिमान उँचो बनाउँदै पदक जितेकोमा विद्यालयमा पनि खुसीको माहोल छाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै जिल्ला, प्रदेश खेलेर उनी राष्ट्रिय टोलीमा सामेल भएकी हुन् । अहिले उनी नेपाली सेनाको विभागीय टिम नेपाल आर्मी क्लबमा आबद्ध छन् ।

नेपाली कबड्डी टोलीमा अग्लो कदकी २५ वर्षीया अनुजा सशक्त खेलाडी हुन् । सोमबार बङ्गलादेशलाई पराजित गरेपछि नेपाली टोलीले मुलुकलाई एसियाली खेलकुदकै पहिलो पदक पक्का गरेको थियो ।

एसियाली खेलकुदको कबड्डी प्रतिस्पर्धामा नेपाली टोली पहिलोपटक सहभागी भएको हो । प्रतियोगितामा पदक दिलाउन अनुजाले प्रदर्शन गरेको खेल कौशलको चौतर्फी प्रशंसा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer