२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

छिमेकी साकोसको नाफा साढे तीन करोड


बिर्तामोड, असोज २२ । झापामा पाँचवटा सेवाकेन्द्र रहेको शिवसताक्षीकै प्रतिष्ठित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ०७९–०८० मा तीन करोड ५७ लाख ७४ हजार ७७ रूपैयाँ नाफा कमाएको छ ।

संस्थाको १७ औँ वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार १४ करोड ३ लाख ६७ हजार ८०० रुपैयाँ चुक्ता शेयर पुँजी रहेको सो संस्थाले ११ करोड ६३ लाख ४४ हजार १४० रुपैयाँ आम्दानी गरेको हो ।

संस्थाको झापाको शिवसताक्षीमा मंगलबारे र जनतामा गरेर दुईवटा सेवाकेन्द्र छन् । त्यस्तै, कनकाईको सुरुङ्गा, दमकको दमक र कमल गाउँपालिकाको केर्खामा सेवाकेन्द्र छन् ।

गत आर्थिक वर्षमा छिमेकीले ३९ करोड २० लाख ८० हजार ८५१ रुपैयाँ निक्षेप संकलन गरेको संस्थाका कार्यकारी निर्देशक नरप्रसाद ओली (नविन)ले बताए । उनका अनुसार आर्थिक मन्दीका बाबजुद निक्षेप र कर्जा असुली दर संस्थाको लक्ष्यअनुसार नै भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म ६५ करोड ३४ लाख ८७ हजार ५३५ रुपैयाँ लगानीमा रहेको थियो । चालु आर्थिक वर्षको यो अवधिसम्ममा उक्त अंक घटेको निर्देशक ओलीले बताए ।

४ हजार २४० जना शेयर सदस्य रहेको संस्थाले सम्पत्ति र दायित्व गरेर ८६ करोड ५ लाख ८४ हजार ७२१ रुपैयाँको वासलात बनाउनसमेत सफल भएको छ । सो संस्थाको ४ करोड ६७ लाख २७ हजार १५३ रुपैयाँको सुरक्षित पुँजी कोष छ ।

संस्थाको भवन झिलझिलेमा सोमबारदेखि सुरु इकाइगत साधारणसभा असोज २७ गते सम्पन्न हुनेछ । मंगलबार जनता, बुधवार दमक, बिहीबार मंगलबारे, शुक्रबार सुरुङ्गा र कमलको केर्खाबाट सदस्यको राय सुझाव संकलन गरेर २७ गते शनिबार झिलझिलेस्थित प्रधान कार्यालयबाट नयाँ नेतृत्वसहित संस्थाको १७ औँ वार्षिक साधारणसभा सम्पन्न हुने जनाइएको छ ।

साधारणसभाको उद्घाटनसत्रमा संस्थाका सदस्य यज्ञराज ओलीले पाँचजना कर्मचारीलाई नगदसहित सम्मान गरेका थिए । माधव पोखरेल झिलझिले, मिना अधिकारी दमक, लक्ष्मण तामाङ झिलझिले र रमेश ढकाल केर्खा सेवाकेन्द्रका कर्मचारी जनही नगद ५ हजार १०५ रुपैयाँसहित सम्मानित भएका हुन् ।

त्यस्तै, संस्थाले सुशील न्यौपाने, केशव आचार्य, खगमाया अधिकारी र गरिमा श्रेष्ठलाई पनि सम्मान गरेको छ भने संस्थाका पूर्वकर्मचारी नेत्र कोइरालालाई भव्य समारोहका बीच सम्मानसहित विदाई गरिएको छ । उनले संस्थाबाट स्वेच्छिक अवकास लिएका थिए ।

छिमेकी बचत तथा ऋण सहकारी संस्थामा नियमित कारोबार गर्ने जगतमणि उप्रेती, राजन (नवराज) न्यौपानेसहित ३९ जनालाई संस्थाले सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष गणेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्कीलगायतको उपस्थिति रहेको थियो । पर्शुराम ढुंगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उदयप्रकाश राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer