२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सैनिक एफसी एकता स्पोर्टिङ गोल्डकपको अन्तिम चारमा


बिर्तामोड, असोज २७ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा दमकको नव प्रतिभा युवा क्लबलाई हराउँदै सैनिकले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाएका थिए । उत्कृष्ट फिनिसिङ र लयमा रहेका युव खेलाडीले भरिएका दुवै टिमको खेल आकर्षक थियो । सैनिकले दमकलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको सुरुवाती अग्रता सैनिकले लिए पनि दमकले बराबरी गोल फर्काएको थियो । खेलको १२ औँ मिनेटमा सैनिकका अभिषेक गुरुङको क्रसलाई कप्तान दुर्लभ तिवारीले हेडरमार्फत सिधै जाली चुमाएका थिए ।

तर, ४० औँ मिनेटमा दमकका ससेस राईले उत्कृष्ट प्रहार गर्दै खेललाई बराबरीमा फर्काएका थिए । ५२ औँ मिनेटमा सैनिकका अभिषेक गुरुङले एक गोल थप्दै आफ्नो टिमको जित निश्चित गरेका थिए ।

आजको खेलको प्लेयर अफ द म्याच सैनिक एफसीका अभिषेक गुरुङ भए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer