२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

खुट्टीडाँगी क्षेत्रको विजयी सुरुवात


मेचीनगर, असोज २७ । बडादशैँ तथा शुभ दिपावलीको अवसर पारेर खुट्टीडाँगी युवा परिवारको आयोजनामा भएको टोल क्षेत्रस्तरीय फुटबल प्रतियोगितामा खुट्टीडाँगी क्षेत्रले विजयी सुरुवात गरेको छ ।

कवि शिरोमणि माविको खेल मैदानमा आज शनिबार भएको उद्घाटन खेलमा झापा लीलाबस्ती क्षेत्रलाई २–० गोलअन्तरले खुट्टीडाँगीले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा खुट्टीडाँगीका सोवित कटुवालले १५ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको खुट्टीडाँगीले दोस्रो हाफको ३५ औँ मिनेटमा साहिल तामाङले थप गोल गरेर जित निश्चित गरे ।

भोलि आइतबारको खेल झरना क्षेत्र र चियावल्नी क्षेत्रबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिता वडा नम्बर ९ मा रहेका ८ वटा टोल क्षेत्रका टिम सहभागी छन् ।

आयोजक कमिटीका अध्यक्ष शितल लिम्बूको अध्यक्षता तथा मेचीनगर वडा नम्बर ९ का वडा अध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा कविशिरोमणि मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापाले शुभकामना मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा मेचीनगर वडा नम्बर ९ का वडा सदस्य धनकुमार श्रेष्ठ, सुष्मा कार्की डोली, रिदम नेपाल मेचीनगर ९ का अध्यक्ष रुद्र रोक्का, मेचीनगर रेडक्रस सोसाइटीका सभापति रमेश दाहाल, समाजसेवी तेजप्रसाद चौलागाईं, चन्द्रमणि पौडेल, उद्धव बानियाँ, जानुका ओली लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछ । स्थानीयस्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेल कात्तिक ४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer