२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

आशिषको ह्याट्रिकमा एकता स्पोर्टिङ क्लब सेमिफाइनलमा


बिर्तामोड, असोज २७ । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा चन्द्रगढीको ब्रदर्स युनाइटेड क्लबलाई हराउँदै एकताले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाएका थिए । उत्कृष्ट फिनिसिङ र लयमा रहेका युव खेलाडीले भरिएका दुवै टिमको खेल आकर्षक थियो । एकताले बद्रर्सलाई ४–२ गोल अन्तरले हराएको हो ।

खेलको सातौँ मिनेटमा एकताका सुशील राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, आशिषले खेलको १७ औँ, ३८ औँ र ५२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

ब्रदर्सका तर्फबाट २० औँ मिनेटमा भाइचुङ राई र २८ औँ मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए । निर्णायक युवराज बजगाईंले गलत निर्णय गरेको भन्दै ब्रदर्सका खेलाडीले केहीबेर खेल रोकेका थिए ।

आजको खेलको प्लेयर अफ द म्याच एकताका आशिष चापागाईं भए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer