२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्नु हुन्छ ? के हुँदैन ?


बिर्तामोड, कात्तिक ११ । यो वर्ष अर्थात २०८० मा लाग्ने एउटै ग्रहण कात्तिक ११ गते आज आश्विन शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुनेछ । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)मा उल्लेख छ ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्न हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्न हुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्न नहुने शास्त्रीय वचन रहेको पनि प्राडा देवमणि धर्मशास्त्रविद् भट्टराईले बताए ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ । अपराह्न ४ः१९ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासानुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

दिउँसो ४ः१९ बजेदेखि बाल, वृद्ध, बिरामी, सुत्केरी बाहेकले भोजन गर्न नहुने विकास समितिले जनाएको छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् रामचन्द्र गौतम बताउँछन् ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ ।ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा, नसके नजिकको नदी, ताल, तलाउ, पोखरी र त्यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

– राससको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer