२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आर्थिक अभावका कारण धुलाबारीका संजोगको उपचारमा समस्या


मेचीनगर, कात्तिक १६ । ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ ।

गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका उनलाई १६ दिनअघि उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो ।

त्यसपछि उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका वरिष्ठ सुपरभाइजर दिपेश भट्टराईले संजोगको हालसम्मको उपचारको बक्यौता पाँच लाखभन्दा धेरै भइसकेको बताए । हाल संजोग आइसियु कक्षमा छन् ।

उनको टाउकाको शल्यक्रिया भइसकेको र पैसा खोजेर ल्याउने पहल भइरहेको छ भनेर आफन्तले भनेको आधारमा अत्यधिक उधारोमा पनि उपचारमा कुनै कमि आउन नदिएको भट्टराईले बताए ।

मलेसियामा रोजगार गरेर गत वर्ष फर्किदा संजोग बिरामी नै थिए । उनको लिभरमा समस्या देखिएको थियो भने उच्च रक्तचापको समस्या पनि थियो । घर चलाउनै आर्थिक संकट परेपछि संजोगकी पत्नी लक्ष्मी थापा मगर दुई महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी छन् ।

उनीहरूको दुई सन्तान छन् । छोरी ९ वर्ष र छोरा ७ वर्षका छन् । संजोगका बुबा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । उनी शारीरिक रुपमा अशक्त बनेका छन् । आमा पनि बिरामी नै छन् ।

संजोगका बुबा राजेन्द्र थापा र र आमा दिलमाया थापाले अस्पताल परिसरमै पत्रकारहरूसँगको भेटमा उपचारका लागि आर्थिक सहयोग गरेर आफ्नो छोरालाई बचाइदिन सार्वजनिक आह्वान गरेका छन् ।

बिएन्डसी अस्पतालको न्युरोलोजी विभागले संजोगको ब्रेन हेमरेज र लिभर रोगको उपचार भइरहेको जनाउँदै उपचारमा सहयोग गरिदिए आभारी हुने जनाएको छ । मेचीनगर–१० का डेभिड शिवाकोटीले संजोगलाई बचाउन गाउँमा चन्दा संकलन अभियान सुरु गरिएको जानकारी दिए ।

ज्यालादारी काम गर्दै आएका संजोगको परिवारको अन्य आयस्रोत नभएकाले सबैसँग आर्थिक सहयोगका लागि अपिल समेत गरिएको शिवाकोटीले बताएका छन् ।

संजोग बचाउ अभियानमार्फत उपचार सहयोग जुटाउन संजोगका भिनाजु थमबहादुर तामाङको नाममा ग्लोबल आइएमई बैंक धुलाबारी शाखामा बचत खाता खोलिएको छ । इच्छुक दाताहरूले सोही बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने स्थानीय सांगे शेर्पाले बताए ।

बैंक खाताको विवरण: ग्लोबल आइएमई बैंक, धुलाबारी शाखा खातावालाको नाम: थमबहादुर तामाङ, खाता नम्बर ०२३०७०१०१२४९५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer