२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

साना मझौलाको नाफा ६४ लाख, अध्यक्षमा पुनः देवी निरौला बस्नेत


बिर्तामोड, कात्तिक १६ । अतिथि सदनरोड बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ६४ लाख रुपैयाँ नाफा गरेको छ ।

संस्थाको आज बिर्तामोडमा सम्पन्न १३ औँ साधारणसभामा अध्यक्ष देवी निरौला बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ६४ लाख १९ हजार ४८० रुपैयाँ नाफा भएको हो । गत वर्षको नाफा ५३ लाख १० हजार तीन रुपैयाँ थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्म संस्थाको शेयर पुँजी छ करोड ८१ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ । बचत निक्षेप २३ करोड एक लाख ४३ हजार ५४४ रुपैयाँ रहेको छ ।

संस्थाले आर्थिक वर्ष २०७९/०८० मा २७ करोड ९६ लाख ५५ हजार ७३९ रुपैयाँ कर्जा लगानी गरेको बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको वासलात ३४ करोड ५७ लाख ३४ हजार ८४१ रुपैयाँ रहेको छ ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको अवसर पारेर कर्मचारी तथा शेयर सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

संस्थाले उत्कृष्ट कर्मचारीमा फिल्ड सुपरभाइजर ऋषिराम अधिकारीलाई पुरस्कृत गरेको छ । त्यस्तै, उत्कृष्ट बचतकर्तामा विष्णुप्रसाद शिवाकोटी, दिपक भूजेल र प्रभा रायामाझी सम्मानित भए ।

उत्कृष्ट खुत्रुके बचतकर्तामा राहुल अग्रवाल र सन्तोष खतिवडा, कर्जा उपभोेक्तामा निकेश कटवाल र कमला उप्रेती सम्मानित भए ।

संस्थाले एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि नगदसहित सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा अभिनव सिलवाल र अंकिता दवाडी रहेका छन् ।

३ दशमलव ७५ जिपिए ल्याएका सिलवाल र ३ दशमलव ९६ जिपिए ल्याएकी दवाडीलाई मोहनप्रसाद भट्टराईले आफ्ना बुवा र छोराको नाममा स्थापना गरेको विप्लव रामचन्द्र स्मृति शैक्षिक पुरस्कार प्रदान गरिएको हो ।

बिर्तामोड, मेचीनगर र कनकाईमा तीनवटा सेवाकेन्द्र रहेको संस्थामा दुई हजार ४९० महिला र एक हजार ९६१ पुरुष शेयर सदस्य रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका शाखा प्रबन्धक कमलप्रसाद खनाल, नेफ्स्कूनका विनोद न्यौपाने, बिर्तामोड नगरपालिकाका सहकारी प्रमुअ डिल्लीप्रसाद दाहाल, स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेत, नयाँ उज्यालोकी अध्यक्ष सुष्मा भण्डारी, मातृ भाग्यरेखाका अध्यक्ष टंकप्रसाद दवाडीले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए भने स्वागत कोषाध्यक्ष देवीप्रसाद अधिकारीले गरेका थिए ।

अध्यक्षमा पुनः बस्नेत

संस्थाको पाँचौँ अधिवेशनले अध्यक्षमा पुनः देवी निरौला बस्नेतलाई निर्वाचित गरेको छ । त्यस्तै, उपाध्यक्षमा देवीप्रसाद अधिकारी, सचिवमा पुनः चन्द्रकुमार भट्टराई, सहसचिवमा प्रेमप्रसाद अधिकारी, कोषाध्यक्षमा छविरमण अधिकारी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा प्रेमबहादुर कार्की, अनिता मैनाली संग्रौला, ममता गुरुङ र कृपा खड्का चयन भएका छन् ।

संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा पुनः श्याबहादुर निरौला, चन्द्रबहादुर बस्नेत र यशोदा बस्नेत चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer