२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा बनिरहेको भ्युटावरको काम अन्तिम चरणमा


दमक, कात्तिक २७ । झापाको दमक–३ स्थित दापगाछीमा बनिरहेको भ्युटावरको काम ९० प्रतिशत सकिएको छ । डेढ अर्बमाथि लगानीमा भ्युटावर बनिरहेको छ ।

सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका प्रमुख सुदीप पौडेलका अनुसार भ्युटावर सम्पन्न गर्नका लागि मंसिर अन्तिमसम्म समय थपिएको छ । तर मंसिरसम्म काम नसकिने पौडेलले जानकारी दिए ।

सरकारले कामको भुक्तानी गर्न सक्ने अवस्था नभएकाले ढिलो हुने बताइएको छ । अर्थ मन्त्रालयले नै पैसा नपठाएपछि योजना सक्न एक–दुई महिना थप लाग्ने उनले बताए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एक सय मिटर अग्लो १८ तले भ्युटावर निर्माणका लागि २०७६ असार २७ गते ठेक्का लागेको थियो ।

२०७८ पुस २७ गते सक्नेगरी चनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए ।

हाल यो योजनाको लागत बढेर एक अर्ब ६५ करोड पुगेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ ।

भ्युटावर निर्माणको काम समयमा नसकिएपछि तीनपटक म्याद थपिएको छ । अब मंसिर मसान्तसम्म समय छ । भ्युटावरको भित्री काम लगभग सकिएको सघन सहरीले जनाएको छ ।

भ्युटावरका केही भित्री कामबाहेक बगैँचा तथा पार्क निर्माणको काम रहेको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका भ्युटावर हेर्ने परियोजना इन्जिनियर भूपेन्द्रकुमार यादवले जानकारी दिए ।

अब फिनिसिङ, बगैँचा तथा फुटपाथ निर्माणको काम र मुख्य भवनमा इलेक्ट्रिकल सेनिटरीको काम बाँकी छ ।

दमकको यो भ्युटावर निर्माण सुरु हुँदा स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको छ । तर, हाल कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि बनिनसकेकाले स्थानीय तहलाई सञ्चालनका लागि दिने–नदिने टुंगो लागेको छैन ।

त्यस्तै, भ्युटावरलाई केमा प्रयोग गर्ने भन्ने पनि टुंगो लागेको छैन । यद्यपि, यसलाई बिजनेस सेन्टरको रूपमा प्रयोग गर्ने चर्चा गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer