२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

तिहारमा बनाउनुस् सेलरोटीका यस्ता परिकार


बिर्तामोड, कात्तिक २८ । विशेषगरी तिहारमा धेरैले सेलरोटी बनाउँछन् । परम्परा र संस्कृतिको रुपमा सेलरोटी अनिवार्य जस्तै भएको छ । घरमै पनि विभिन्न प्रकारका सोलरोटी बनाउन सकिन्छ ।

काँडे सेलरोटी

साइजमा केही सानो देखिए तापनि निकै आकर्षक र छुट्टै मिठास छ । सोसल मिडियामा निकै भाइरल भइरहेको यो काँडे रोटी घरमै बनाउन सकिन्छ ।

सामग्री: रातभर भिजाएको चामल एक किलो, शुद्ध नेपाली घिउ २५० ग्राम, चिनी ३०० ग्राम, एक चक्चा बेकिङ पाउडर, फ्राइ तेल आवश्यकताअनुसार मिलाउन सकिन्छ ।

विधि: भिजाएको चामललाई राम्ररी मिक्स्चरमा पानी मिसाएर पिस्ने । पिसेको चामलको लेदोलाई हातले १० मिनेटजति मज्जाले माड्ने । घिउ र चिनी हालेर पुनः १० मिनेट माड्ने र बेकिङ पाउडर हालेर राम्ररी मिक्स गरी छोपेर ५–७ घन्टा राख्ने । सेलरोटी बनाउन बाक्लो तावामा तेल तताउने ।

तेलको तापक्रम २२०–२३० डिग्रीभन्दा माथि नलैजाँदा राम्रो हुन्छ । घरमा प्रब (तातो–चिसो नाप्ने थर्मोमिटर) छैन भने हातमा थोरै मुछेको पिठो लिएर कति तातेको छ भनेर नाप्न सकिन्छ । तेल राम्ररी तात्नासाथ एउटा झाँजरलाई तेलको माथि राखेर सोलीमा राखेको सेलरोटीको पिठोलाई सानो रिंग हुने गरी घुमाउने ।

एकसाइड पाक्नासाथ अर्कापट्टि फर्काउने र गोल्डेन ब्राउन देखिन थालेपछि तेलबाट निकालेर स्टेनरमा तेल तर्कन छाडिदिने । त्यसपछि रोटी पकाउँदै जाने । एक किलो चामलले झन्डै ३० पिस काँडे रोटी बनाउन सकिन्छ । शुद्ध घिउमा तार्ने हो भने यसको मिठास अझ उत्तम हुन जान्छ ।

हनी नट्स सेलरोटी

सामग्री: ताइचिन चामल–५०० ग्राम, शुद्ध नेपाली घिउ–३ चिया चम्चा, चिनी–१÷४ कप, मह–५ टेबल चम्चा, उसिनेर पिसेको काजु पेस्ट, सुजी १-४ कप, मौदा ३ टेबल चम्चा, दूध १ कप, सुकमेलको धुलो पिन्च, बेकिङ सोडा चिम्टी, पानी आवश्यकताअनुसार थप्ने ।

विधि: चामललाई १ घन्टा भिजाएर छान्ने र घाम या हावामा सुकाउन राख्ने । हल्का सुक्खा हुनासाथ ब्ल्यान्डरमा पिसेर एउटा बाटामा खन्याउने । घिउ हालेर माडी–माडी मुछ्ने र एकछिन राख्ने ।

केही समयपछि बाँकी सम्पूर्ण सामग्री हालेर मुछ्ने । छोपेर रातभरि राख्ने र बाक्लो सेल पकाउने तावामा तेल हालेर तताउने । हात या सोलीको माध्यमले बीचमा केही तिंग या दियो राखी सेलरोटी पकाउने । यसरी तयार भएको सेलरोटी निकै स्वादिष्ट र क्रन्ची हुन्छ ।

रंगीन फिनी रोटी

चाहिने सामग्री: मैदा–४ कप, चामलको पिठो–आधा कप, घिउ–५ चम्चा, पानी– डो बनाउन आवश्यकताअनुसार, नुन–स्वादअनुसार, आइसिंग सुगर–आधा कप, तेल–फ्राई गर्न पुग्ने, फुड कलर–रातो, पहेँलो, हरियो, गुलाबी १–१ चिम्टी ।

विधि: चामल र मैदाको पिठो मिसाएर नुन र घिउ हाली माड्ने र तपाईंलाई कति कलरमा फिनी रोटी बनाउने हो, त्यतिवटा भाँडामा बराबर पिठो विभाजन गरी भिन्न–भिन्न ‘फुड कलर’ हाली आवश्यकताअनुसार पानी हाल्ने । मुछेर घटीमा १५–२० मिनेट छोपेर राख्ने ।

छुट्टाछुट्टै मुछेको पिठोलाई एकएक गरी बेल्ने । बेलेको सबै रोटीमा थोरै मैदा, चामलको पिठो र तेलले बनाएको लेदो दल्ने । सबै बेलेको रोटीलाई एक–अर्कामाथि खप्टेर बिछ्याउने ।

अब सबै रोटीलाई एकसाथ समाएर रोल गर्ने र चक्कुले सानो–सानो पिसमा काटेर लाम्चो आकारमा बेल्ने । अब फिनी रोटीलाई तातेको तेलमा फ्राई गर्ने र यो पत्र–पत्र बनेर रंगीन देखिन्छ ।

नुनिलो मन पर्नेले यत्तिकै खादा हुन्छ भने गुलियो मन पर्नेले तातो–तातो पत्रे रोटीमा धुलो चिनी (आइसिंग सुगर) छर्केर खान सकिन्छ । यदि तपाईंलाई प्रोसेस गरेको फुड कलर प्रयोग गर्न मन छैन भने चुकन्दरको जुस, गाँजरको जुस, पालकको जुसजस्ता प्राकृतिक रंग हालेर पिठो मुछ्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer