२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर भागेका सरदार पक्राउ


बिर्तामोड, मंसिर ३ । रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै झापाको सुरुङ्गाका एक सयभन्दा बढी युवासँग करिब एक करोड रुपैयाँ ठगेर बेपत्ता बनेका सञ्जय सरदार पक्राउ परेका छन् ।

सरदारलाई हिजो शनिबार राति विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । मोरङ पोखरियाका ३९ वर्षीय सरदारलाई विराटनगरको कटहरीस्थित आदर्शनगरबाट शनिबार राति ९ बजेतिर पक्राउ गरिएको हो ।

हाल घरमा रहेकी जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गर्नका लागि विराटनगर आएको बेला यसअघि ठगीमा परेका महिलाहरुले पिट्दै गरेको बेला प्रहरी चौकी हाटखोला विराटनगरको प्रहरी टोलीले उद्दार गरेर सरदारलाई जिल्ला प्रहरी कार्यालय विराटनगरमा पुर्याएको हो ।

सरदार हाल प्रहरी हिरासतमा रहेको र आज आइतबारबाट आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सरदारलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । सरदारले त्यहाँका अन्य युवासँग पनि विदेश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको र उनी लुकिछिपी बस्दै आएका थिए ।

सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, वैदेशिक रोजगारी विभाग लगायतका कार्यालयमा समेत उजुरी परेको छ ।

झापाको कनकाई ३ कनकाई टोलमा डेरा गरेर बस्ने मोरङ पोखरियाका सरदार गत साउन महिनादेखि रकम उठाएर फरार भएका थिए । सरदारले सुरुङ्गा बजार, कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका युवासँग प्रतिव्याक्ति १ लाखदेखि ३ लाखसम्म उठाएको पीडितहरुले बताएका छन् ।
सम्बन्धित समाचार:

Adv footer