२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

रतुवा खोलामा समस्या, २७५ मिटरको खोलामा २०५ मिटरको पुल


दमक, मंसिर ३ । झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गको रतुवा नदीको पुल निर्माण भइसकेपछि खोलाको आकार बढ्दा समस्या आएको छ ।

खोलामा पक्की पुल भए पनि नागरिकहरु बाँसको पुलमार्फत ओहोरदोहोर गर्न बाध्य छन् । हुलाकी सडक आयोजना इटहरीका इन्जिनियर प्रमोद खतिवडाका अनुसार पुरानो डिजाइनअनुसार पुल निर्माण भएको हो ।

२०५ मिटर लम्बाइको पुल २०७५ सालमा नै पूरा भएर हस्तान्तरण भएको उनले जानकारी दिए । पुल छोटो हुँदा सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइनअनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो ।

पुललाई सञ्चालन हुने अवस्थाको बनाउने गरी थप २२ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का लागेको खतिवडाले बताए ।
२०८२ असार १७ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण व्यवसायीसँग सम्झौता भएको छ । इन्जिनियर खतिवडाका अनुसार नयाँ काम तीव्र रूपमा भइरहेको छ र सम्झौताको पाँच महिनामा ३० प्रतिशत काम पूरा भएको छ ।

झापाको भद्रपुरदेखि मोरङको विराटनगर जोड्ने हुलाकी राजमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगिसकेको छ । यो पुल निर्माण भइसक्दा गौरीगञ्ज तथा आसपासका बासिन्दालाई विराटनगर पुग्न सहज हुनेछ ।

यसैबीच, पुल निर्माण सम्पन्न भए पनि छोटो भएपछि बाँसको पुल बनाएर स्थानीयले प्रयोग गर्दै आएका छन् ।
बाँसको पुलबाट खोला तर्दा पैदलयात्री एक जनाको १०, साइकल र मोटरसाइकलको ३० रुपैयाँ तिर्नुपर्छ । सिटी रिक्सा तथा टेम्पोले दुई सय रुपैयाँसम्म तिर्नुपर्छ ।

बाँसको पुल प्रयोग गर्नेबाट रकम उठाउन गाउँपालिकाले नै दुई लाख रुपैयाँमा ठेक्का लगाएको छ । बाँसको पुल भएर दैनिक पाँच सय जनाभन्दा बढीको ओहोरदोहोर हुने गरेको छ ।

तत्कालीन मोरङ–सुनसरी पुल आयोजनाले २०६४ सालमा पुल निर्माणको ठेक्का लगाएको थियो । त्यसबेला कालिका ओसिए जेभीले १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का सकारेर निर्माणको काम सुरु गरेको थियो ।

यो पुलले गौरीगन्ज गाउँपालिका–६ चिल्लारा र मोरङको दक्षिण–पूर्वी रतुवामाई नगरपालिका–३ आमबारीलाई जोड्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer