बिर्तामोड, माघ २४ । झापाको बिर्तामोडमा हुने पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिता यही माघ २७ गतेदेखि २९ गतेसम्म बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुनेछ ।
प्रतियोगितामा नेपालका उत्कृष्ट २० र्यांकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट २५ सिका वातावरण प्रमुख समेत रहेका कुरुबाङले जानकारी दिए ।
त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
भेट्रान्सतर्फका विजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।