२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट


बिर्तामोड, चैत २५ । २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापाका महत्वपूर्ण केन्द्रहरुलाई जोड्ने यस उदीयमान सहरमा आगामी यही ३० गते शुक्रबार बेलुकी ब्यान्डका लोकरक भाकाहरु गुञ्जनेछन् ।

धेरैअघि यस भेगको पुरानो वाणिज्य केन्द्र थियो बिर्ताबजार । कालान्तरमा महेन्द्र राजमार्ग बनेपछि सडक भएतिरै चहलपहल बढ्न थाल्यो । राजमार्गको जुन बिन्दुबाट बिर्ताबजार मोडिन्थ्यो त्यसलाई ‘बिर्तामोड’ भन्न थालियो । समयसँगै अब ‘बजार’ ले स्वयमलाई ‘मोड’ भित्रै विलिन तुल्याइसकेको छ ।

बढ्दो व्यस्तता र सहरीकरणसँगै यातायात आवागमनको पनि तीव्र बृद्धि भएको बिर्तामोडमा यसअघि नेपथ्यले ‘ट्राफिक व्यवस्थापन’ मा योगदान दिन कन्सर्ट गरेको थियो । यस भेगमा सवारी दुर्घटनाको मात्रा अत्यधिक बृद्धि भएको बेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि नेपथ्य प्रस्तुत भएको थियो ।

त्यसभन्दा पहिले भने द्वन्द्वकालमा शान्तिको आह्वान गर्दै ‘सुन्दर शान्त नेपाल’ अभियानअन्तर्गत नेपथ्यले यसै भूमिमा गीतहरु सुनाएको थियो । अहिलेको यो नवीन नगरपालिका त्यतिबेला भने ‘अनारमनी गाविस’ भनेर चिनिन्थ्यो ।

यसरी बिर्तामोडको विकासक्रमसँग जोडिँदै आएको नेपथ्यले अब भने यस सहरकै प्रमुख खेलकुद आयोजना ‘झापा गोल्डकप’ लाई योगदान दिने उद्देश्यका साथ आफूलाई प्रस्तुत गर्न लागेको छ ।

‘यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रुपमा रहँदै आएका छन्,’ नेपथ्यका गायक एवम अगुवा अमृत गुरुङ भन्छन्, ‘कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्यान्ड फेरि जुर्मुराएको विन्दुछेवैको दमक बन्न पुगेको थियो भने केही दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौँ ।’

नेपथ्य मनपराउने दर्शक घेरामा उभिनका लागि आफू सदैव उत्साहित रहने गरेकामा अबको केही दिनमै बिर्तामोडका संगीतप्रेमीहरुमाझ पुग्न व्यग्र भइरहेको पनि गुरुङले थपे ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ । नेपथ्य यसभन्दा अघिल्लो कन्सर्टका बेला पनि यसै मैदानमा उभिएको थियो ।

‘नेपथ्यको प्रस्तुतिलाई स्वदेशका साना सहरबजारदेखि लिएर ठुला सहरसम्म एकरुपता प्रदान गर्न हामी सदैव प्रयासरत रहँदै आएका छौँ,’ नेपालयका व्यवस्थापक अर्पण शर्मा भन्छन्, ‘कलाकारबाहेक प्रविधि र प्राविधिकहरु समेत गरेर ठुलो टिमका साथ उपस्थित हुँदा यो एकरुपतालाई बिर्तामोडका दर्शकहरुले पनि महसुस गर्न सक्नेछन् ।’

बिर्तामोड कन्सर्टको आयोजना स्थानीय श्रृद्धि इभेन्टले गर्न लागेको हो । आयोजक सुमन धिमालका अनुसार सदाझैँ त्यहाँको कन्सर्ट पनि निर्धारित समय अर्थात शुक्रबार बेलुकी ठिक साढे छ बजे सुरु हुनेछ । आयोजनास्थलका ढोकाहरु भने त्यसभन्दा दुई घन्टाअगावै अर्थात ठिक साढे चार बजे खोलिनेछन् ।

टिकटका लागि बिर्तामोड लगायत पूर्वका सहरहरुमा काउन्टरका व्यवस्था गरिएका छन् भने इन्टरनेटबाटै बुकिङ सुरक्षित गर्नका लागि अनलाइन टिकटको पनि व्यवस्था गरिएको छ । त्यसका लागि इच्छुक व्यक्तिले सोझै नेपथ्य डट कममा गएर टिकट खरिद गर्न सक्नेछन् ।

यो कन्सर्टलाई लिएर त्यस भेगका बासिन्दाहरुबीच सामाजिक सञ्जालमा चर्चा परिचर्चा व्यापक हुँदै गएको देखिन्छ भने केही फेसबुक पेजहरुले नेपथ्य ब्यान्डसँग जोडिएका विभिन्न प्रश्नहरु राख्दै विजेतालाई पुरस्कारका रुपमा टिकटको घोषणासमेत गर्दै आएको छ ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

फोटो: नेपथ्य/नेपालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer