
बिर्तामोड, बैशाख २७ । प्रहरीले झापाको बिर्तामोडबाट होटलमा शंकास्पद अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । उनीहरु हिजो दिउँसो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरूमा दुईजना नेपाली महिला, एकजना होटलको रिसेप्सनमा सहयोग गर्ने कर्मचारी र दुईजना भारतीय पुरुषहरु रहेका छन् । उनीहरुको नाम र ठेगाना प्रहरीले खुलाएको छैन ।

बिर्तामोड–३ स्थित सैनिकमोड नजिकै रहेको मामा भान्जा होटल एन्ड लजबाट प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको हो । उनीहरु यौनकार्य र लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले आशंका गरेको छ ।

प्रहरीले भारतीय नम्बर डब्ल्युबी ७३ आर ५१४८ को भारतीय मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





