२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको ‘पत्रकार उपचार कोष’ मा एक करोड रुपैयाँ


बिर्तामोड, बैशाख ३ । नेपाल पत्रकार महासंघ झापाले ‘उपचार कोष’को राशि एक करोड रुपैयाँ पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको यसको स्थापना आठ वर्षअघि भएको थियो ।

आज बिर्तामोडमा एक समारोहबीच कोषमा एक करोड पुगेको घोषणासहित कोषका दाताहरुलाई संस्थापक सम्मान दिइने भएको छ । उक्त समारोहमा नेपालका प्रथम राष्ट्रपति डक्टर रामवरण यादव प्रमुख अतिथि छन् ।

नागरिकको सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले २०७३ पुस १६ गते पत्रकार महासंघको तत्कालीन अध्यक्ष भीम नेम्वाङको कार्यकालमा कोष घोषणा गरिएको थियो ।

महासंघको आफ्नै कोषबाट चार लाख रुपैयाँ र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख रुपैयाँ जम्मा गरेर उचार कोष स्थापना गरिएको थियो । उक्त कोषमा अहिले एक करोड रुपैयाँ जम्मा भइसकेको छ ।

समाचार संकलनको क्रममा हुने दुर्घटनामा घाइते र रोग लागेर बिरामी हुने झापाका पत्रकारहरुलाई कोषले उपचारका लागि नगदै सहयोग दिँदै आएको छ । कोषमा पत्रकारहरुले जनही तीन हजार रुपैयाँ जम्मा गरेका छन् भने अधिकांश रकम दाताले दिएका हुन् ।

झापामा हाल दुईसय भन्दा बढी पत्रकारहरु क्रियाशील छन् । दैनिक, साप्ताहिक र वार्षिक पत्रिकाहरु प्रकाशित भइरहेका छन् भने टेलिभिजन, रेडियो र अनलाइन सञ्चारमाध्यमहरु सञ्चालनमा छन् ।

कोषको व्यवस्थित सञ्चालनका लागि कार्यविधि निर्माण गरिएको छ भने कोष वृद्धिका लागि समिति गठन गरिएको थियो । कोषको साँवा रकम खर्च गर्न नमिल्ने गरी अक्षयकोषमा राखिएको छ । त्यसको ब्याजबाट प्राप्त हुने रकमबाट पत्रकारहरुको उपचारमा खर्च हुँदै आएको छ ।

कोषको सहयोगमा जिल्लाका थुप्रै पत्रकारले दुर्घटना हुँदा र बिरामी पर्दा उपचार सहयोग पाइसकेका छन् । झापामा प्रेस चौतारी नेपालको शाखाले समेत ‘पत्रकार उपचार कोष’ स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer