२०८३ जेठ २ शनिबार
Jhapa Today
Adv top

भत्किन थाल्यो भद्रपुर-जलथल-राजगढ सडक


बिर्तामोड, जेठ २ । भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछि यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

सडकका ठाउँठाउँमा ठुला खाल्डाखुल्डी पर्नुका साथै पुल र कल्भर्ट निर्माण अधुरै रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयबासीको गुनासो छ ।

स्थानीय नेत्रविक्रम बिमलीका अनुसार विशेषगरी हल्दीबारी गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ क्षेत्रमा पर्ने भुतेनी खोला र भुसुडी खोलामा निर्माण अपूरो अवस्थामा रहेकाले सवारी आवागमनमा समस्या भइरहेको छ ।

स्थानीयबासीका अनुसार सडकमा भएका खाल्डाखुल्डीका कारण साना तथा ठुला सवारीसाधन दुर्घटनामा पर्ने क्रम बढ्दो छ । वर्षायाम सुरु हुन लागेकाले सडकको अवस्था अझ जोखिमपूर्ण बन्न सक्नेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले सडकको दयनीय अवस्थाबारे गाउँपालिकाले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म सुधारको काम अघि नबढेको बताए ।

हल्दीबारी–४ का वडा अध्यक्ष सन्तकुमार थापाले निर्माण सम्पन्न भएको छोटो समयमै सडक भत्किन थालेपछि निर्माणको गुणस्तरीयतामाथि प्रश्न उठेको बताए । उनले सडकमा दैनिकजसो दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै समयमा मर्मत तथा सुधार नगरे थप क्षति हुनसक्नेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।

हल्दीबारीका स्थानीय प्रल्हाद सेलवालले वर्षायाममात्र नभई हिउँदमा समेत अधुरा पुल र कल्भर्टका कारण स्थानीयबासीले यात्रामा समस्या भोग्नुपरेको बताए ।

यसैबीच, हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत आयोजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले झापाचोकबाट राजगढपारिसम्मको १९ दशमलव ५० किलोमिटर सडकखण्ड निर्माण व्यवसायीले हालसम्म औपचारिक रूपमा हस्तान्तरण नगरेको जानकारी दिए ।

उनका अनुसार उक्त सडक निर्माणको ठेक्का आशिष याक्थुङहाङ जेभीले लिएको हो । निर्माण कम्पनी अहिले ‘त्रुटि सच्याउने अवधि’ मा रहेकाले भत्किएका तथा बिग्रिएका संरचनाको मर्मत पनि सोही कम्पनीले गर्ने उनले बताए ।

Adv footer