२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

राजमार्गका रुख काटिँदा संकटमा अजिंगर


बिर्तामोड, बैशाख ३ । काँकरभिट्टा–लौकही सडक विस्तार गर्ने क्रममा रुख कटान हुँदा त्यहाँ बस्दै आएका अजिंगर संकटमा पर्ने देखिएको छ ।

पूर्व–पश्चिम राजमार्गको चार लेन सडक विस्तारका क्रममा रुख कटानपछि झापामा मात्रै हालसम्म तीनवटा अजिंगर भेटिएका छन् । बासस्थान मासिँदा त्यहाँ आश्रित वन्यजन्तु तितरबितर भएका छन् ।

गत फागुन दोस्रो सातादेखि राजमार्गका रुख तथा बोटबिरुवा काट्ने काम सुरु भएको थियो । चैत २० मा मेचीनगर–७ सतिघट्टा चिया बगान क्षेत्रमा एउटा अजिङ्गर स्थानीयले भेट्टाएका थिए ।

करिब ९ फिट लामो सर्प देखेपछि स्थानीयले उद्धारकर्मीहरूलाई खबर गरेका थिए । उनीहरूले अजिङ्गर उद्धार गरी पाँच पोखरी सामुदायिक वनमा छाडिदिए ।

चैत २४ मा मेचीनगर–४ आमडाँगी क्षेत्रमा त्यसैगरी स्थानीयले अर्को अजिङ्गर देखे । संरक्षणकर्मीसहितको स्थानीय टोलीले ५ फिट लामो अजिङ्गर उद्धार गरी तेलपानी सामुदायिक वन क्षेत्रमा छाडिदियो ।

चैत ३० मा पुनः राजमार्गको रुख कटान क्षेत्रमै तेस्रो अजिङ्गर भेट्टियो । मेचीनगर–७ जोरसिमलको भेट्टिएको ७ फिटको अजिङ्गरलाई पनि उसैगरी सिमसार क्षेत्रमा छाडियो ।

अजिङ्गर प्रायः घना जङ्गल र ओसिलो (सिमसार) जमिनमा बस्न रुचाउँछ  । रूखको ठुलाठुला मुढा, टोड्का र सुकेका पातमा पनि लुकेर बस्छ । कहिलेकाहीँ नदी र ठुला पोखरी आसपास घाँसे मैदानमा पनि भेटिन्छ । झापाको जलथल, चारआलीलगायतका क्षेत्र अजिङ्गरको मुख्य बासस्थान हो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार काँकडभिट्टा–लौकहीसम्मको १ सय २० किलोमिटर लामो सडक स्तरोन्नति हुँदैछ । सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र वन क्षेत्रमा २४ मिटर चौडामा सडक विस्तार गरिँदैछ । त्यस क्रममा १२ हजारभन्दा बढी रुख काटिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer