२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्गा प्रसाईंले राखेको हतियार अर्ध स्वचालित, अनुमति लिएरै राखेको खुलासा


बिर्तामोड, बैशाख ११ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लाइसेन्स लिएर राखेको बन्दुक सेमी अटोमेटिक (अर्ध स्वचालित) हतियार रहेको खुलेको छ ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले जाँच गरेको रिपोर्टमा प्रसाईंको नाममा रहेको हतियार अर्ध स्वचालित रहेको खुलेको हो ।

चैत ५ गते सर्वोच्च अदालतको गेटबाट अत्याधुनिक हतियारसहित प्रसाईंका दुई बडीगार्ड रामकुमार धिमाल र दिपक खड्का पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

तर, बडीगार्डद्वयले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रसाईंको हतियारबारे छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

अध्याधुनिक हतियार र १०० राउन्ड गोली बरामद भएको यो घटनामा गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमासमिति बनाएर छानबिन सुरु गरेको थियो । समितिमा गृहका उपसचिव ऋषि पौडेल र एसपी सन्तोष भट्टराई सदस्य तथा एकदेव अधिकारी सदस्य सचिव थिए ।

समितिले हतियार परीक्षणका लागि भन्दै प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो । हतियार जाँचको रिपोर्ट आइसकेको समितिका संयोजक पाण्डले बताए । प्रसाईंले सामान्य हतियारको लाइसेन्स लिएर अत्याधुनिक हतियार लिएको समितिले प्रारम्भिक अनुमान गरेको थियो । तर, प्रहरी जाँचको क्रममा भने लाइसेन्समा उल्लेख भएको मोडलअनुसारको अर्धस्वचालित हतियार रहेको खुलेको छ ।

‘प्रसाईंले बुझाएको लाइसेन्समा जुुन हतियार उल्लेख गरिएको छ, सोही हतियार राखेको देखिन्छ । प्रसाईंले राखेको बन्दुक अर्धस्वचालित हतियार हो’, समिति स्रोतले भन्यो ।

प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ गते हतियारको लाइसेन्स लिएका थिए । प्रसाईंको लाइसेन्स नम्बर १०१३१ छ ।

झापाका तत्कालीन सिडिओ जनकराज दाहालले प्रसाईंलाई उक्त हतियारको लाइसेन्स दिएको खुलेको छ । बुद्धशान्ति–३ झापाका दिपक खड्काले बोक्न मिल्ने गरी हतियारको लाइसेन्स दिइएको थियो । खड्काले बोक्नुपर्ने हतियार अर्का बडिगार्ड धिमालले बोकेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

हातहतियार तथा खरखजना ऐन २०१९ मा प्रस्ट नभए पनि प्रसाईंले लाइसेन्स लिइसकेपछि कार्यान्वयनमा आएको मुलुकी फौजदारी अपराध संहिता २०७४ मा लाइसेन्स लिएर कस्तो प्रकृतिको हतियार राख्न पाउने भन्नेबारे उल्लेख छ ।

संहितामा उल्लेख भएअनुसार प्रसाईंले उक्त हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन । त्यस्ता हतियार बोक्ने र बोक्न अनुमति दिनेलाई समेत संहिताको दफा १३१ को उपदफा ३ अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

तर, प्रसाईंले यी हतियार बाहेक अर्धस्वचालित हतियार लाइसेन्स लिएरै राखेको खुलेको छ । संहिता लागु हुनुपूर्व नै प्रसाईंले हतियार लिएको देखिएको भन्दै समितिले उक्त कारबाही प्रक्रिया अघि नबढाउने संकेत गरेको छ ।

-अनलाइनखबरबाट सम्पादन गरेर साभार गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer