२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आयोजक आदर्श सेमिफाइनलमा प्रवेश


मेचीनगर, बैशाख १५ । झापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आयोजकका लागि खेलको १७ औँ मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा डि–बक्समा अनमार्क रहेका थापाले गोललाई पोस्टको दिशा दिएका थिए ।

खेलको ७० औँ मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै आयोजक टिमका प्रदिप बुढाथोकीले अग्रता दोब्बर बनाए ।
विपक्षी खेलाडी बिट भइसकेको समयमा बुढाथोकीले सुन्दर गोल गर्दै आयोजकको जित सुनिश्चित पारेका थिए ।

खेलको इन्ज्युरी समयमा ध्रुुवताराका सञ्जय धिमालले सान्त्वना एक गोल फर्काए पनि जितका लागि त्यो पर्याप्त हुन सकेन । अनमार्क धिमालले वान टु वानको स्थितिमा गोल फर्काएका थिए ।

खेल अवधिभर आयोजक आदर्शले ध्रुुवतारामाथि दबाब कायम राखेको थियो । ध्रुवताराले निर्धारित ८० मिनेटको खेलमा विपक्षी टिमविरुद्ध खासै मुुभ बनाउन सकेको थिएन ।

खेलको ४५ औँ मिनेटमा ध्रुवताराका रजिन माझीले गरेको फ्रिकिक आयोजकका गोलरक्षक उपेन्द्र लुहागुनले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको २३ औँ मिनेटमा आयोजक आदर्शका उमेश याङवाले दिएको पासलाई प्रदिप बुढाथोकीले गोल गर्न सकेनन् । उनको प्रहार विपक्षी गोलरक्षक आयुष लिम्बूले नियन्त्रणमा लिए ।

खेलको प्लेयर अफ द म्याच आयोजक आदर्श युवा क्लबका पहिलो गोलकर्ता पुजन थापा भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए ।

भोलिको खेलमा बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक मनेष दाहालले बताए ।

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक भएको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले लामो समय स्थगित भएको प्रतियोगिता सुरु गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले आगामी वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै गाउँपालिकाले सहयोग जारी राख्ने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer