मोरङ, बैशाख १९ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् ।
कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका साथै नेपालका खेलाडीहरु ओलम्पिक खेलाडी कार्यक्रमस्थल आइपुगेका हुन् ।
विराटनगर विमानस्थलमा बुधबार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आठजना ओलम्पिक खेलाडीलाई स्वागत–सम्मान गरिन् । उनीहरूलाई स्वागत गर्दै उपाध्यक्ष कार्कीले ओलम्पिकजस्तो खेलकुदको महाकुम्भमा सहभागिता जनाएका खेलाडीलाई कोशी प्रदेशमा स्वागत गर्न पाउँदा खुसी लागेको सुनाइन् ।
बोर्डका सदस्य सचिव हंशराज वाग्लेलगायत सदस्यहरुले उनीहरुलाई विराटचोकस्थित नेपालीरिका होटलमा स्वागत–सम्मान गरे । बिहीबार बिहान सुनसरीको इटहरीस्थित रंगशालामा हुने वाकाथन (पैदल यात्रा) मा उनीहरुलाई सहभागी गराइनेछ ।
शुक्रबार भने खेलकुदबाटै पर्यटनमा टेवा पु¥याउने उद्देश्यले आयोजना हुने इलाम भ्रमणमा खेलाडी सहभागी हुने सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए।
त्यस्तै, नेपाल ओलम्पियन्स एसोसिएसनकी सचिव देबु थापाले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका खेलाडीलाई फेरि एकैस्थानमा उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको बताइन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
आज मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुनेछ ।
पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइनेछ । विदेशी ओलम्पियनस पनि कार्यक्रममा सहभागी हुने छन् ।
बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकैठाउँ धेरै खेलाडीलाई प्रदेशमा ल्याएको हो । उनीहरूलाई भित्र्याउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हुने आयोजकको ठम्याइ छ ।
चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बताइएको छ ।
नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायतलाई खेलप्रेमीमाझ उतार्ने बोर्डले जनाएको छ ।
कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने छन् । कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।