२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सदस्य सचिव बस्नेतलाई मुख्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण


बिर्तामोड, बैशाख २४ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्वहाली भएका कृष्ण बस्नेत (पर्शुराम) सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ ।

कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले बैशाख २३ गते बस्नेतलाई पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएका छन् ।

बस्नेतलाई तत्कालीन भीम आचार्यको सरकारले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेको थियो ।

तत्कालीन राजेन्द्र राईको प्रदेश सरकारबाट २०७८ चैत २२ गते पदमुक्त भएका बस्नेत २०८१ बैशाख १७ गते उच्च अदालतमार्फत सदस्य सचिवमा पुनर्वहाली भएका थिए ।

तर, उनी बोर्ड सदस्य सचिवमा पुनर्वहाली हुँदा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ (ङ), दफा १३ तथा प्रदेश खेलकुद ऐन २०७६ को २७ प्रतिकूल हुने भएकाले मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण बुझाउन बस्नेतलाई आदेश दिएको हो ।

कुनै पनि सरकारी लाभको पदमा रहेको व्यक्तिले निर्वाचनमा भाग लिनुअघि सो पदबाट राजीनामा दिनुपर्नेमा बस्नेतले त्यसो नगरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

म सदस्य सचिव नै छु, मलाई सदस्य सचिव कायमै गरियोस् भनेर दाबी गरिरहँदा तथा हाल पुनर्वहाली भई हालसम्मको तलब पनि पाउने व्यवस्था भइरहँदा उनी २०७९ मंसिर ४ गतेको निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार रहेका थिए ।

प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गर्नेबित्तिकै बस्नेत सदस्य सचिवबाट स्वतः पदमुक्त हुने कानुनी व्यवस्था रहेकाले मुख्यमन्त्रीले बस्नेतको पदले निरन्तरता पाउने हो होइन भनी स्पष्टीकरण सोधेको हो ।

बस्नेतले आज कार्यालय समयसम्म चित्तबुझ्दो स्पष्टीकरण नबुझाए नियमानुसार हुने मुख्यमन्त्री कार्कीले बस्नेतलाई पठाएको पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer