२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

युनिकम नेपालको अध्यक्षतमा पुनः पौडेल


बिर्तामोड, बैशाख २४ । नेपाल व्यापार तथा कर्मचारी संघ (युनिकम नेपाल) को अध्यक्षता गजेन्द्रबहादुर पौडेल चयन भएका छन् । संघका संस्थापक अध्यक्ष झापाका पौडेल तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

बैशाख २१ र २२ गते काठमाडौँमा सम्पन्न महाधिवेशनबाट पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

चार बर्से कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा रविन शर्मा भुसाल, महिला उपाध्यक्ष गोमा नेपाल, उपाध्यक्ष चिरञ्जीवी पौडेल, महासचिवमा लेखनाथ दाहाल, उपमहासचिव रमण घिमिरे, सचिव मीनराज पौडेल र कोषाध्यक्षमा दुर्गाप्रसाद भट्ट निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सीता विक, सविता श्रेष्ठ, खेमकुमारी आचार्य, प्रदिप बञ्जरा, देवीराम तिवारी, जक्तबहादुर श्रेष्ठ, लेखनाथ गैरे, दिपक बाँस्तोला, ईश्वरानन्द कर्ण, प्रदिप शाह र मोहनचन्द्र दाहाल निर्वाचित भएका छन् ।

महाधिवेशनमा प्रति ५० सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुने र सोही प्रतिनिधिहरुको भेलाले नयाँ नेतृत्व चयन गर्ने वैधानिक व्यवस्था रहेको महासचिव दाहालले बताए ।

हालसम्म युनिकम नेपालका ३५ जिल्ला समिति र सातवटै प्रदेश समितिहरु गठन भइसकेका छन् । मार्केटिङ, डिपार्टमेन्ट, थोक तथा खुद्रा, मेडिकललगायत १० वटा विषयगत क्षेत्रमा आबद्ध कर्मचारीका सङ्गठनहरू र ६ हजारभन्दा बढी सदस्यता युनिकममा आबद्ध रहेको दाहालले बताए ।

श्रमिकका अधिकार सुनिश्चित गर्दै रोजगारदाता कम्पनीसँगको समन्वय सहकार्यमा आगामी दिनमा सबै जिल्लामा संगठन विस्तार गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष गजेन्द्रबहादुर पौडेले बताए ।

झापाबाट सुरु भएको यो अभियान अहिले देशव्यापी बनाउँदै लगेको अध्यक्ष पौडेले जानकारी दिए । ‘यो अभियान विचारले विभाजन छैन’, उनले भने, ‘संस्थामा राजनीतिक दृष्टिकोणले सबैको विचार फरकफरक भए पनि यो संस्थाका गतिविधिमा स्वतन्त्रता प्रस्तुत गर्न सक्नु नै हाम्रो सफलता हो ।’

विभिन्न व्यापार व्यवसायमा आबद्ध कर्मचारीहरूको सेवासुविधा, नियमित पारिश्रमिक र रोजगारीको सुनिश्चितताका लागि काम गर्दै आएको युनिकमलाई संस्थागत गर्दै यहाँसम्म ल्याउन सबैले सकारात्मक भूमिबाट सम्भव भएका उनको भनाइ छ ।

सदस्यहरूका लागि नेतृत्व क्षमता विकासका विविध आयाममा तालिम समेत गर्दै आएको युनिकमले सबै व्यापारी तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनका लागि सम्बन्धित निकायसँग अवश्यक सम्वाद गर्ने जनाएको छ ।

यसैबीच, युनिकम नेपालले श्रम कानुन र सामाजिक सुरक्षा योजना कार्यन्वायनमा जोड दिएको छ । रोजगारादाता र प्रतिष्ठानहरुसँगको मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धतासहित सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट युनिकम नेपालले श्रम ऐन कार्यन्वायनका सन्दर्भमा सरोकारवाला पक्षलाई जिम्मेवार हुन आग्रह गरेको हो ।

श्रम कानुन कार्यान्वयनलाई जोडतोडका साथ उठाएको तेस्रो महाधिवेशनले चार बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
जारी घोषणा पत्रमा भनिएको छ, ‘तीनै तहका सरकारसँग समन्वयमा श्रमिक र रोजगारादाताबीच श्रम ऐन कार्यन्वायनका लागि सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन यो महाधिवेशन माग गर्दछ ।’

नेपाल सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने समेत युनिकमले जारी घोषणा पत्रमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer