मेचीनगर, बैशाख ३१ । आदर्श युवा क्लब बुद्धशान्ति झापाले आदर्श मलामी विश्रामालय चिलिमगढी घाट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
आदर्श युवा क्लबले क्लबका पूर्वअध्यक्ष तथा बुद्धशान्तिका प्रथम राष्ट्रिय एन्फा रेफ्री लोकराज ढुंगानाको स्मृतिमा करिब डेढ लाख रुपैयाँको लागतमा चिलिमगढीमा नवनिर्मित आदर्श मलामी विश्रामालय घाट व्यवस्थापन समिति अध्यक्ष कमल उप्रेतीलाई आज हस्तान्तरण गरेको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए ।
समितिका अध्यक्ष उप्रेतीले आदर्श युवा क्लब खेलकुदसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको भन्दै खुसी व्यक्त गरे । उनले चिलिमगढी घाटमा मलामी विश्रामालय निर्माणले स्थानीय क्षेत्रका बासिन्दा लाभान्वित हुने बताउँदै बेवारिसे शव व्यवस्थापनको लागि एक लाख रुपैयाँको अक्षय कोष निर्माणको लागि सहयोगको अपिल पनि गरे ।
क्लबका अध्यक्ष श्रेष्ठले सामाजिक दायित्वअन्तर्गत आदर्श मलामी विश्रामालय निर्माण गरिएको र आगामी दिनमा स्थानीय संघसंस्थासँग हातेमालो गर्दै विभिन्न सामाजिक गतिविधिलाई अगाडि बडाउने उद्घोष गरे ।
सोही अवसरमा चिलिमगढीको फोहोरमैला पनि सरसफाइ गरिएको अध्यक्ष श्रेष्ठले बताए । साथै, क्लबले बुद्धशान्ति ३ को ज्येष्ठ नागरिक चौतारीलाई १५ हजार रुपैयाँबराबरको स्टिल दराज ज्येष्ठ नागरिक चौतारीका उपाध्यक्ष तुलसी खतिवडालाई हस्तान्तरण गरिएको थियो ।
२०५२ सालमा स्थापित बुद्धशान्तिकै सबैभन्दा पुरानो क्लब आदर्श युवा क्लबले खेलकुद, सांस्कृतिक र विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै समाजमा सकारात्मक परिवर्तनको लागि युवा एकतामा जोड दिँदै आएको सचिव दुर्योधनसिंह देवले जानकारी दिए ।
त्यस्तै, क्लबले विभिन्न चरणमा फुटबल प्रतियोगिता गरेर बचत भएको रकम र आन्तरिक स्रोेतबाट क्लबले आफ्नै ६ कोठा भएको सटरसहितको भवन निर्माण गरेको छ ।
क्लबका सचिव देवले सञ्चालन गरेको कार्यक्रममा घाट व्यवस्थापन समितिका केशवप्रसाद सापकोटा, पदम पोखरेल र क्लबका तर्फबाट उपाध्यक्ष मिलन मुखिया, सदस्य खड्ग श्रेष्ठ र तारा गौतमको उपस्थिति रहेको थियो ।